१ पुस, काठमाडौं । सरकारले राष्ट्रपतिसमक्ष प्रमारिणकरणका लागि पठाएको राष्ट्रियसभासम्बन्धी अध्यादेश रोक्नुमा एमालेको खेल रहेको भन्दै एमालेलाई सम्झाइदिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै देउवाले यस्तो आग्रह गरेका हुन् ।
सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश पारित नगर्नका लागि एमालेले उक्साएर संवैधानिक राष्ट्रपतिलाई विवादमा तान्न खोजेको देउवाको आरोप थियो । सरकारले पठाएको अध्यादेशमा संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने धारणा देउवाले व्यक्त गरेका थिए ।
सरकारले राष्ट्रपतिसमक्ष पठाएको राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेशमा एकल संक्रमणीय निर्वाचन प्रणाली उल्लेख भएकोले त्यसप्रति एमालेले आपत्ति जनाउँदै आएको छ । त्यस्तो निर्वाचन प्रणाली असंवैधानिक हुने धारणा एमाले अध्यक्ष केपी ओलीले राख्दै आएका छन् । एमालेका अनिच्छा रहेको अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण नगरी अड्काएकोनुले यसमा एमालेको खेल रहेको दावी प्रधानमन्त्री देउवाले गरेका हुन् ।
राष्ट्रियसभासम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणित नभएका कारण राष्ट्रियसभा गठनमा अवरोध सिर्जना भएको छ ।












