२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले तत्काल राजिनामा दिएर नैतिकता देखाउनुपर्ने धारणा कांग्रेसका एक प्रभावशाली नेताले बताएका छन् । काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेता प्रकाशमान सिंहले देउवाले तत्कालै सरकार र पार्टीको नेतृत्वबाट राजिनामा दिनुपर्ने बताएका हुन् ।
काठमाडौंको वानेश्वस्थित आनन्द इभेन्टमा आयोजना शुक्रबार सिंहले मतदाता तथा कार्यकर्तासँग गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा पार्टी सभापति देउवाको आलोचना गरेका हुन् ।
इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनुको जिम्मा पार्टीको नेतृत्व गर्नेले लिनुपर्ने उनले बताए । सिंहले भने “विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ ।”
नेता सिंहले पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोगेको भन्दै भने, “पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” काठमाडौँमा काँग्रेसको पक्षमा चित्तबुझ्दो नतिजा नआएको उनको भनाइ थियो ।
“देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्छ”, उनले भने ।
पूर्व उपप्रधानमन्त्री सिंहले संसद्मा आफ्नो राम्रो सिट नआएको भन्दै सरकार र संसद्ले गरेका राम्रो कामलाई समर्थन गर्दै नराम्रो कामको खबरदारी गरी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताए ।












