२९ मंसिर, काठमाडौं । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । छिमेकी देश चीन तथा भारतलगायतका विज्ञ तथा वैज्ञानिकसँग परामर्श गरी उचाइ नाप्नका लागि अन्तिम तयारीमा पुगेको हो । सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहे पनि यसको उचाइ बढेको हनुसक्ने अनुमान धेरै पहिलेदेखि गरिँदै आएको थियो ।
सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले दुई करोड रुपैयाँ विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए ।
उनले भने, “भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गतवर्ष नै प्रस्ताव गरेका थियौँ, सोहीअनुरुप सरकारले बजेट तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेपछि हामीले आवश्यक तयारी गरी मापनको अन्तिम चरणमा पुगेका छौँ ।”
भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ । मापन कार्य शुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नापनक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ ।
यही मंसिर २५ र २६ गते काठमाडौँमा भएको गोष्ठीमा नापी विभागले मापनका लागि तयार पारेको कार्यविधिमा पनि छलफल भएको सहप्रवक्ता पौडेलले जानकारी दिए ।