२७ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कामचलाउ सरकारले सात प्रदेशमा सरकारको प्रतिनिधिका रुपमा प्रदेशप्रमुख तोक्न नमिल्ने बताएका छन् ।
काठमाडौँ क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि आज आयोजित कार्यक्रममा उनले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक तथा प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा नमिल्ने विचार व्यक्त गरे ।
मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वामगठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रीय शासन नआउने स्पष्ट पारे ।
जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उनले पाँच वर्षभित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेता नेपालले प्रशासनिक ढिलासुस्तीको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता नीति कार्यान्वयनलाई प्राथमिकता राखेर देशमा सुुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखिने बताए।












