२६ मंसिर, सर्लाही । सर्लाही क्षेत्र नं ४ मा कांग्रेस उम्मेदवार अमरेशकुमार सिंह हार्ने भएपछि मतगणनास्थलमा सिल नभएका मतपेटिकाले प्रवेश पाएको छ । मतगणना अन्तिमतिर पुग्दै गर्दा कांग्रेसका सिंह करिब ४ सय मतले पछाडि रहेपछि सिल नलगाएका २ मतपेटिका मतगणनास्थलमा भित्रिएका हुन् । सिल नलगाएका मतपेटिका भित्रिएपछि आइतबार रातिदेखि सर्लाहीको मतगणनास्थलमा तनाव उत्पन्न भएको थियो । दलहरुबीच सहमति नहुँदा मंलगबारसम्म सर्लाही ४ को मतगणना हुन सकेको छैन ।
बलरा नगरपालिकामा रहेको जनता आधारभूत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रका ६ वटा मतपेटिकामध्ये ४ वाट मात्रै सिल रहेको पाइएपछि दलका प्रतिनिधिबीच विवाद उत्पन्त भएको थियो । निर्वाचन आयोगले मतगणना अगाडि बढाउन निर्देशन दिइसके पनि दलहरुले मतगणना गर्न सहमति जनाएका छैनन् ।
चुनावी प्रतिश्पर्धामा रहेका दुई दल राजपा र काँग्रेस कार्यकर्ताबीच सोमबार दिउँसो झडप समेत भएको थियो। झडपमा केही कार्यकर्ता घाइते हुनुका साथै सवारीसाधनमा समेत तोडफोड भएको छ।
पछिल्लो मतगणनाको परिणामअनुसार राजपाका उम्मेदवार राकेश कुमार मिश्रको १६ हजार ३१८ मत र सिंहको १५ हजार ९३५ मत रहेको छ । सर्लाहीमा जारी तनावका कारण आज पनि झडप हुनसक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।














