२५ मंसिर, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नराम्रो हार व्यहोरेको कांग्रेसको नेतृत्व फेर्न विशेष महाधिवेशन गर्नुपर्ने माग नेताहरुले गरेका छन् । हारको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने भन्दै आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका नेताहरुले समेत नेतृत्व परिवर्तनको माग उठाएका हुन् ।
काठमाडौंबाट चुनाव जितेका युवा नेता गगन थाापाले पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएलगत्तै विराटनगरबाट अर्का नेता शेखर कोइरालाले पनि यही कुरा उठाएका छन् । देशभरका कांग्रेस नेता तथा कार्यकर्ताले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने बताइरहेको भन्दै
कोइरालाले महासमिति बैठक समेत दुई वर्षसम्म नबसेकोप्रति गुनासो गरे ।
निर्वाचन परिणाम आएको लगत्तै पार्टीको केन्द्रीय समिति बैठक बसेर महासमिति बैठक बोलाउने निर्णय गर्नुपर्ने र महासमिति बैठकबाट नै विशेष महाधिवेशन गर्नुपर्ने कुराको निर्णय गर्नुपर्ने आवश्यकता रहेको कोइरालाले बताए ।
विशेष महाधिवेशनमार्फत नै पार्टी नेतृत्व परिवर्तन नगरे कांग्रेसको अस्तित्व नरहने दावी समेत उनले गरे ।













