२५ मंसिर, धरान । सुनसरी क्षेत्र नम्बर ३ को मतगणनामा नेपाली कांग्रेसका विजय गच्छदारले निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर जित्न खोजेको आरोप लगाउँदै वामगठबन्धनले मतदान बहिष्कार गरेको छ । आफूहरु मतगणनामा सहभागी नहुने भन्दै वामगठबन्धनले गरेको विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन समेत प्रहरीलाई समस्या परेको छ ।
यस क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा गच्छदारभन्दा १५५ मतले चौधरी अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन् भने गच्छदाले २९ हजार १७१ मत पाएका छन् ।
गच्छदारले सेटिङ मिलाएर आफूलाई हराउने खोजेको आरोप चौधरीले लगाएकी छन् । आइतबारसम्म गच्छदारले हार्ने स्थिति रहेकोमा सोमबार एकाएक गच्छदारले जित्ने अवस्था आएकोप्रति सेटिङ देखिएको चौधरीले बताइन् ।
मतगणनाका क्रममा अधकट्टी सहितको मतपत्र भेटिएको चौधरीले बताएकी छन् । शंका लागेर मतपत्रको सिरियल नम्बर हेर्न खोज्दा निर्वाचन अधिकृतले नदिएपछि उनीमाथि कारवाहीको माग गरिएको छ । उनले निर्वाचन अधिकृत परिर्वतनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा निवेदन समेत दिएकी छन् ।
यही सेटिङ मिलाउने मनसायले मतगणना अघि नै सीसीटीभी राख्न आफूहरुले आग्रह गरे पनि निर्वाचन अधिकृत र गच्छदार पक्षले अस्वीकार गरेको आरोप वामगटबन्धन पक्षधरले लगाएका छन् । मतगणनास्थलबाहिर वामगठबन्धनका नेता कार्यकर्ताको विरोध प्रदर्शन र नारावाजी जारी छ । स्थिति तनाग्रस्त बन्दै गएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।













