२४ मंसिर, काठमाडौं । विवादले रोकिएको स्याङ्जाको मतगणना आइतबार साँझदेखि सुरु भएको छ । सर्वदलीय बैठकको दुई दिनको कसरतपछि आइतबार साँझदेखि मतगणना सुरु भएको हो । कांग्रेसका क्षेत्र नं २ का उम्मेदवार तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पदीय दुरुपयोग गरी बुथ कब्जा गरेको आरोप वामगठबन्धनले लगाएर मतगणनामा सहभागी नहुने बताएपछि आजसम्म मतगणना हुन सकेको थिएन ।
शनिबार दिनभरको छलफल र आइतबार पनि पुनः छलफल भएर सर्वदलीय सहमति भएपछि मतदान भएको चौथो दिनमा मात्रै स्याङ्जामा मतगणना सुरु भएको हो । वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ पद्मा अर्यालमाथि कांग्रेस कार्यकर्ताले मतदानस्थलमै हातपात र दुव्र्यवहार गरेको भन्दै गठबन्धनले आपत्ति जनाएको थियो । यसका साथै कांग्रेसले पाँच वटा बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्दै ती मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने वामगठबन्धनको माग थियो । गठबन्धनको आरोपमाथि कांग्रेसले प्रत्यारोप लगाउँदै विभिन्न बुथमा एमालेले समेत कब्जा गरेको बताएको थियो । दुवै पक्षको अडानका कारण स्याङ्जामा झडप तथा निषेधाज्ञा जारी भएको थियो ।














