२४ मंसिर, वर्दिया । नेकपा एमालेका प्रभावशाली मानिएका नेता वामदेव गौतमले वर्दियाबाट पराजित भएसँगै एमाले कार्यकर्ता नै खुशी देखिएका छन् । वामदेवले वर्दियाको विकासमा ध्यान नदिएको, आफ्ना गुटका केही व्यक्तिलाई मात्रै च्यापेर कार्यकर्ताको ठूलो पक्तिलाई बेवास्ता गरेको लगायतका कारण एमाले कार्यकर्ता नै खुशी देखिएका हुन् ।
त्यसो त एमालेकै मत वामदेवको विरुद्धमा परेका कारण उनी पराजित हुने अवस्थामा पुगेको वर्दियाका एक एमाले कार्यकर्ताले नेपालदेशलाई बताए । माओवादी केन्द्रका सबै मत वामदेवलाई गएको र एमालेका मत उनलाई हराउनका लागि सञ्जय गौतमका पक्षमा गएको उनले बताए ।
वामदेवलाई पराजित गर्नका लागि आफूहरुले काठमाडौंबाट समूह नै बनाएर भोट हाल्न वर्दिया गएको एमाले काठमाडौं सम्पर्क मंचका एक पदाधिकारीले खुलासा गरे । दोस्रो संविधान सभाको निर्वाचनमा वर्दिया र प्युठान दुवै स्थानबाट जिते पनि वर्दियालाई छाडेर प्युठान रोजेको र अहिले वामगठबन्धन भएपछि वर्दियाबाट चुनाव जित्ने आशाले मात्रै उनी वर्दिया झरेका कारण एमाले कार्यकर्ताले नै उनलाई सजायँ दिएको उनको विश्लेषण छ । वामदेवले जितेर काठमाडौं फर्केपछि त्यहाँको विकासमा ध्यान नदिएको आरोप समेत एमाले कार्यकर्ताहरुकै छ ।
वर्दिया माओवादी वाहुल्य क्षेत्र मानिन्छ । माओवादी र एमालेको गठबन्धन हुँदा दोब्बर मतान्तरले वामदेवले जित्ने पूर्वानुमान गरिएको थियो । तर, परिणाम उल्टो भएको छ ।
मतगणनाको अन्तिम नतिजाअनुसार वामदेव र्गौतम ७५३ मतले कांग्रेसका उम्मेदवारसँग पराजित बनेका छन् ।
कांग्रेसका सञ्जयकुमार गौतमले ४४८२९ विजयी भए पनि वामदेवले ४४०७६ प्राप्त गरे ।
विजयी कांग्रेस उम्मेदवार सञ्जय बहालवाला सिँचाइमन्त्री समेत हुन् ।












