२२ मंसिर, काठमाडौं । २०५९ सालमा प्रधानमन्त्री रहँदा संसद विघटन गरेको आरोपमा कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित भएका शेरबहादुर देउवा अहिले पार्टी सभापति छन् । त्यतिवेलाको घटनाका कारण प्रजातन्त्र दरबारमा बुझाएको आरोप उनले खेपेका थिए । कालक्रमसँगै देउवा अहिले कांग्रेसका पार्टी सभापति छन् । तत्कालीन अवस्थामा निर्वाचन गराउन नसकेर राजाबाट समेत अक्षम घोषित देउवा अहिले निर्वाचन गराउन सफल भएर आफ्नो पुरानो दाग त मेटाए तर अब उनलाई नयाँ दाग लाग्ने भएको छ- पार्टी सिद्याएको ।
देउवा पार्टी सभापति भएपछि पार्टीलाई एकताबद्ध गर्न नसकेको र टिकट वितरणमा आफ्नो गुटलाई मात्र प्राथमिकता दिएको आरोप अब झनै प्रखर बन्ने छ । वामदलहरुको गठबन्धन बनेपछि चुनावी रणनीतिका लागि पूर्वपञ्चहरुका दल राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग गठबन्धन बनाएकोमा स्थानीय नेता र कार्यकर्ता रुष्ट रहँदै आएका थिए ।
पहिलो चरणको निर्वाचनको मतगणना हुँदै गर्दा कांग्रेसको अवस्था निकै कमजोर छ । अहिलेसम्मको अग्रतालाई हेर्दा कांग्रेस तेस्रो दल हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेस तेस्रो दल भए पनि समानुपातिक मतका कारण कांग्रेस दोस्रो दल हुने सम्भावना छ । कांग्रेस दोस्रो दल नै भए पनि देउवाका निकटहरु पराजित हुँदा पार्टीमा उनको मनोबल कमजोर हुने मात्रै होइन पार्टीभित्रैका अन्य गुटले उनीमाथि पार्टी सिद्याएको गम्भीर आरोपले खेदिरहने छन् ।
यस्तो अवस्थामा देउवाले भन्ने एउटै मात्र उद्धरण हुने छ- ‘कांग्रेस हारेर भए पनि लोकतन्त्रलाई जिताउन चाहन्छ । कांग्रेसले हारे पनि लोकतन्त्र संस्थागत भएको छ, नयाँ संविधान कार्यान्वयन भएको छ ।’












