२० मंसिर, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिसकेका सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी कायम रहनसक्ने भएको छ । सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम गर्ने आदेश दिएमा उनको उम्मेदवारी कायम हुनसक्ने भएको हो । यस विषयमा सर्वोच्च अदालतले आज फैसला गर्ने भएको छ ।
यस विषयमा निर्णय गर्नका लागि आजै निर्वाचन आयोगलाई समेत बोलाएको छ । असअघि न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उम्मेदवारी खारेजीको कारण पेस गर्न पनि निर्वाचन आयोगको नाममा आदेश जारी गरेको थियो ।
पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद सदस्य रहेका यादव माओवादी प्रवेश गरेर सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । निर्वाचन आयोगले राहदानी दुरुपयोगमा यादवलाई विषेश अदालतले दोषी ठहर गरेको भन्दै उम्मेदवारी खारेज गरेको थियो । विषेश अदालतले यावदलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना समेत तोकेको थियो ।
निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेपछि यादवले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटउपरको सुनुवाइ गर्दै सर्वोच्चले चुनावको अघिल्लो दिन यसबारे फैसला सुनाउने भएको हो ।

सर्लाही ४ बाट नेपाली कांग्रेसका अमरेश सिंह उम्मेदवार रहेका छन् ।













