२० मंसिर, काठमाडौं । निर्वाचनको मौनअवधिमा पैसा बाँड्ने र भोज खुवाउने उम्मेदवार यतिवेला त्रसित बनेका छन् । निर्वाचन आचारसंहिताको उल्लंघनमा परेर निर्वाचन आयोगले कारवाही गर्ने डर नमानी रातारात मतदातालाई प्रभावमा पार्ने उम्मेदवारहरु यतिवेला बमको त्रासमा परेका छन् । अज्ञात समूहले निर्वाचनका उम्मेदवारलाई लक्षित गरी देशभर बम विष्फोट गराइरहेका कारण रकमको चलखेल गर्ने उम्मेदवार समस्यमा परेका छन् ।
चुनाव प्रचारप्रसार गर्न प्रयोग भएका उम्मेदवारहरुले मौन अवधिमा रातारात मतदाता प्रभावित पार्नका लागि आफ्ना गाडी लिएर घुमिरहेका वेला उनीहरुको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । कपिलवस्तु १ क का कांग्रेस उम्मेदवार पुण्यप्रसाद थारुको गाडीमाथि वुधबार विहान ४ बजे बम प्रहार गरिएको छ ।
त्यस्तै रुपन्देहीको धकधही र मणिग्रामबीचको चार नम्बर चोकमा पनि गएराति वम विष्फोट भएको छ । सिराहामा संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्ताको घर नजिकै भेटिएको बम सेनाको टोलीले विहानै निस्क्रिय पारेको छ । यीबाहके देशमा विभिन्न भागमा बम विष्फोट गराउने र त्रसित पार्ने काम भैरहेको छ ।
बम विष्फोट कसले गराउँदै आएको छ भन्ने कुरामा विष्फोट गराउने तत्व र सरकार दुवै चुप रहँदै आएका छन् । निर्वाचन बहिष्कारको नीति लिएको विप्लव माओवादीले नै देशभर बम विष्फोट गराइरहेको आशंकामा प्रहरीले विभिन्न स्थानबाट सो दलका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रमलाई पनि जारी राखेको छ ।
विप्लव माओवादीका केही कार्यकर्तालाई नियन्त्रणमा लिए पनि बम पड्किने क्रम नरोकिँदा रातारात रकम बाँड्ने, मदिरा र मासु खुवाएर मत किन्ने उम्मेदवारहरु भने हच्किएका छन् । बम विष्फोटमा परिने डरले यसपल्ट त्यस्ता उम्मेदवार रातको समयमा घरबाट ननिस्किएको नेपालदेशका विभिन्न जिल्लाका संवाददाताहरुले जनाएका छन् । उनीहरुले कार्यकर्तामार्फत रकम बाँड्ने र मतदातालाई प्रभावित पार्ने कोसिस जारी राखे पनि अघिल्ला निर्वाचनमा जस्तो सक्रियता नदेखिएको पनि संवाददाताहरुले जनाएका छन् ।












