१९ मंसिर, चितवन । निर्वाचन हुन दुई दिन बाँकी हुँदा चितवनमा भने सुरक्षा चुनौति बढ्दै गएको छ । लुकाइ राखेको अवस्थामा बन्दक, गोली र वारुद फेला परेको प्रभुप्रसाद ढकालले दिए।
विभिन्न सात स्थानमा खोजी अभियान चलाउँदा भरतपुर महानगरपालिका वडा नं ५ कल्याणपुरस्थित नहरको झाडीमा लुकाइ राखेको अवस्थामा एउटा कटुवा बन्दुक फेला परेको जानकारी उनले दिएका हुन् ।
चितवनमा मंसिर २१ गते हुने चुनावलाई शान्तिपूर्ण बनाउन निर्वाचन सुरक्षामा तालिममप्राप्त कुकुरको प्रयोग गर्दा झाडीमा बन्दुक भेटिएको हो । उक्त बन्दुकमा प्रयोग हुने गोली एक राउण्ड र बम बनाउन प्रयोग हुने बारुदको धुलो १५ ग्राम फेला पारिएको छ । सो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्बन गरेका सुरक्षा रणनीतिअनुसार जिल्लाको शंकास्पद वस्तु खोजीका लागि कुकुरको प्रयोग गरिएको हो ।
निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार जिल्ला सुरक्षा समितिले शुरु गरेको खोजी अभियानका क्रममा विभिन्न आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिमा संलग्न गरी ४६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसमा निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २५ जना रहेको ढकालले जानकारी दिए ।












