१९ मंसिर, रोल्पा । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिकाका लागि कडा सुरक्षा व्यवस्था गरिए पनि मतपेटिका जोगाउनै समस्या परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साइरनसहितको ताल्चा र तीन वटै सुरक्षा निकायको कडा पहराकाबीच पनि मतपेटिका जोगाउन मुस्किल परेको हो ।
रोल्पाको सदरमुकाममा राखिएका मतपत्रसहितका मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । बाहिरी गेटमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएर सिल गरेको छ । दलहरूको सहमतिमा साइरनसहितको ताला लगाइएको छ । ताला झुन्डिएको गेटमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पहरा दिइरहेका छन् । त्यसमाथि विभिन्न दलका प्रतिनिधिको निगरानी छँदै छ । यस्तो कडा सुरक्षा व्यवस्था भएको स्थानमा कोही पस्ने त के नजिकै गएर हेर्न र ताल्चा छुन समेत सम्भव छैन । यति हुँदाहुँदै पनि मतपेटिका सुरक्षाका लागि अर्को चुनौति थपिएको छ- मुसा ।
मंसिर १३ मा जिल्लाका एक सय ६० मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका भन्डारण गरिएका कोठामा कसैले पनि प्रवेश अनुमति पाएका छैनन् । तर मुसालाई भने कसैले रोक्न सकेको छैन । मतपेटिका राखेको कोठामा मुसा छिरेर मतपेटिका र मतपत्र धुजाधुजा पारिदिने चिन्ता थपिएको छ । मुसाले मतपेटिका काटेमा पुनः निर्वाचन गराउनुपर्ने अवस्था आउने छ । मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको घरेलु भवन पुरानो भएका कारण पनि मुसाको खतरा बढी देखिएको हो ।
मुसाबाट मतपेटिका जोगाउनका लागि मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी खटिरहेका छन् । मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले भने, ‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ’, मुसा आएपछि पासोमा टाँसिने गरी व्यवस्था गरेका छौं ।’
पासो थापे पनि कोठामा हेर्न नमिल्ने भएकाले मतपेटिका सुरक्षित भए÷नभएको यकिन गर्न सम्भव नभएको कार्यालयले जनाएको छ ।
जिल्लामा एक लाख २७ हजार ६ सय २९ मतदाता रहेकोमा ७० हजार सात सय ७६ मत खसेको छ ।












