१८ मंसिर, काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आफ्नो प्रतिश्पर्धी रहेका गगन थापामाथि बम आक्रमण हुँदा वामगठबन्धनका उम्मेदवार राजन भट्टराई चिन्तित बनेका छन् । चुनाव प्रचारप्रसारका क्रममा एकले अर्कोको तीव्र आलोचना गरे पनि गगन घाइते भएको थाहा पाएपछि भट्टराई दौडँदै थापालाई भेट्न अस्पताल पुगेका थिए ।
थापाको अवस्था बुझ्न भट्टराई त्रिवि शिक्षण अस्पताल पुगे पनि थापालाई भेट्न भने कांग्रेस कार्यकर्ताहरुले नै रोकेका थिए। आकस्मिक उपचार कक्षमा उपचार गराइरहेका थापालाई भेट्न भट्टराई जान खोजे पनि उनलाई कांग्रेसका कार्यकर्ताले त्यहाँ छिर्न दिएनन् । घाइते थापालाई भेट्ना जान खोज्दा उल्टै आफू र आफ्ना सहयोगीमाथि दुव्र्यवहार भएको भट्टराईले बताएका छन् । दुव्र्यवहार गरिएका कारण आफूले थापाको अवस्था बुझ्न नपाएको गुनासो समेत भट्टराईले गरे ।
घरदैलो कार्यक्रमका क्रममा बम विष्फोटमा परी घाइते भएका गगन थापाको कानमा र ढाडमा चोट लागेको छ । सामान्य उपचारपछि थापा शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
थापा र भट्टराई काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिश्पर्धामा छन् ।












