१८ मंसिर, काठमाडौं । काठमाडौंको चपली हाइटमा आज भएको बम विस्फोटमा परी काठमाडौं क्षेत्र नं ४ का कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । थापासहित १० जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बम विष्फोटको छर्रा लागेर थापा घाइते भएका हुन् । उनको अवस्था भने खतरामुक्त रहेको जनाइएको छ ।
काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला बम विष्फोट भएको थियो । थापाको कान र ढाडमा चोट लागेको छ । बम विष्फोटभन्दा थापा ४० मिटरको दूरिमा रहेका कारण उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
थापाले आफू मुस्लिकले बचेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिंडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’
अन्य घाइतेहरुमा श्यामकृष्ण श्रेष्ठ, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु भरुवाल रहेका छन् । यस्तै सामान्य घाइतेमा ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाला श्रेष्ठ, पर्शुराम थापा रहेका छन्।विष्फोटमा घाइते भएका सबैको उपचार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ ।













