१८ मंसिर, काठमाडौं । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मत माग्ने निकै चटारो छ ।
वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेताका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेल रहेका छन् । नेपाल र कुइँकेल दुवै घरदैलोमा भोट माग्न व्यस्त छन् । निर्वाचनको समय नजिक आइसकेको हुनाले भोट माग्ने अन्तिम क्षणमा पनि सभा, समारोह र घरदैलोमा पुगिरहेका छन् ।
सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका–९ र ३२, कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ नंसम्मका वडा र शंखरापुर नगरपालिकाका नौ वटै वडा समेटिएका छन् ।
सो निर्वाचन क्षेत्रका वाम गठबन्धनका उम्मेदवार नेपाल र काँग्रेसका उम्मेदवार कुइँकेल दुवैले आ–आफ्ले जित्ने दाबी गर्नुभएको छ । मत आफ्नो पक्षमा पार्नका लागि दौडधुप पनि उत्तिकै चलिरहेको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार सो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ६४ हजार ७५६ छन ।
स्थानीय तहको निर्वाचनमा आएको मत परिणामलाई हेर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा नेकपा ९एमाले० मत १९ हजार १९६ रहेको छ । यहाँ काँग्रेसको मत १५ हजार ६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेसभन्दा एमाले एक्लैको मत तीन हजार ५६९ बढी छ । यसमा माओवादीको कूल मत पाँच हजार ७३२ जोड्दा २४ हजार ९२८ पुग्छ । यसरी हेर्दा वाम गठबन्धनको मत नौ हजार ३०१ मत बढी छ ।
नेता नेपालले आफ्नो जित सुनिश्चित रहेको उल्लेख गर्दै भने, “मेरो जित सुनिश्चित छ, स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा पनि मैले जितिसके, मलाई जिताउन यस क्षेत्रका जनता आतुर छन ।” नेता नेपाल आफूले निर्वाचन जित्नेमा ढुक्क छन् । नेता नेपाल पहिलो संविधान सभामा जुन शक्ति (माओवादी) सँग पराजित भएका त्यही शक्तिसँग अहिले एमालेको गठबन्धन भएकाले पनि उनले जित्ने आशा बलियो बनेको छ । नयाँ शक्ति नेपालका सो क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवारलाई आफ्नो दलमा प्रवेश गराएर नेता नेपालले आफ्नो जितलाई झनै सहज बनाएको विश्लेषण गरिएको छ ।
- कमजोर छैनन् कुइँकेल पनि
नेपाली काँग्रेसका उम्मेदवार कुइँकेलले भने, “निर्वाचन जित्ने म ढुक्क छु, मतदाताको मन, साथ र सहयोगले मैले चुनाव जित्छु ।”
उम्मेदवार नेपाल र कुइँकेलको चुनाव जित्छु भन्ने आधार त्यहाँको विकास निर्माण र जनताको मत जित्नु नै हो । सो निर्वाचन क्षेत्रबाट संविधानसभा पहिलोमा हार व्यहोरेका नेता नेपाल दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । दोस्रोपल्ट दुई ठाँउबाट जितेका नेपालले पार्टीले त्यहाँ छाडेर मधेश जान्न आग्रह गरेपछि सो निर्वाचन क्षेत्र छोडेका थिए । नेता नेपालले छोडेपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कुइँकेल विजयी भएका थिए।
वाम गठबन्धनका तर्फबाट सो क्षेत्रको प्रदेश क मा सानु श्रेष्ठ, प्रदेश ख मा मणिराम फुँयाल छन् भने नेपाली काँग्रेसबाट प्रदेश क मा लोकेश ढकाल र प्रदेश खमा मनहरि खड्का उम्मेदवार छन् । प्रदेशसभाका उम्मेदवारहरु पनि मत माग्ने चटारोमै छन् ।












