१७ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि भोट मगेका छन् । आफूहरुबीच विगतमा झगडा भए पनि अहिले मिलेर देश बनाउन लागेकोले दाहाललाई भोट दिन ओलीले आग्रह गरे ।
चितवनको माडीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले देश बनाउने संकल्प गरेको उल्लेख गरे। कम्युनिस्टहरु झगडा गर्ने मात्रै होइनन्, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन बनाइएको उनले बताए ।
ओलीले भने- “दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ ।” अब पार्टी एउटै बन्ने बताउँदै भन्दै उनले थपे – “राष्ट्र निर्माणको महान् अभियानमा सामेल भइरहेका छौं । यसलाई सफल पार्न म खटिइरहेको छु, तपार्इंहरू पनि खट्नुहोस् ।”
नेपाली कांंग्रेसले चितवन क्षेत्र नं ३ मा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गरेकोतर्फ व्यङ्ग्य गर्दै ओलीले अब कांग्रेसको रुख बाँकी नरहेको दावी गरे । उनले भने- “कांग्रेसले रुख काटेर हलो बनाइसक्यो, तर उसका कार्यकर्ताको मनमा पीडा छ ।”
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना प्रतिश्पर्धी विक्रम पाण्डेले मतदातालाई प्रलोभनमा पारेको आरोप लगाए ।
हालै मात्र राप्रपा प्रजातान्त्रिकको कारबाहीमा परेका रेशम लामाले समेत सभालाई सम्बोधन गर्दै वामगठबन्धनका पक्षमा भोट मागेका थिए ।
सभा हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको थियो ।












