१७ मंसिर, चितवन। चितवनबाट चुनाव जित्ने दौडमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सबैभन्दा बढी आलोचित हुनुपरेको बाँदमुढे घटनाको सम्बोधन गर्दै पीडितलाई राहत प्याकेजको घोषणा गरेका छन् । बाँदरमुढे घटनाकै कारण प्रचण्डले चितवनबाट चुनाव अप्ठेरो पर्ने देखेपछि मात्रै उनले पीडितको घाउमा १२ वर्षपछि मलम लगाउने प्रतिबद्धता जनाएका हुन् । बाँदरमुढे घटनाका पीडितका लागि रोजगारीदेखि घाइतेको आजसम्मको सम्पूर्ण उपचार खर्च व्यवस्था गर्ने लिखित प्रतिबद्धता उनले आइतबार गरेका हुन् । उनले तीन बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रचण्डले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रमा बाँदरमुढे घटनामा मृत्यु भएकाको आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारी तथा स्वरोजगार, काम गर्न नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाकालाई पठनपाठनको व्यवस्था गर्ने उल्लेख छ ।
यस्तै घाइतेहरुकालाई अवस्था हेरी उपचार खर्च, काम गर्न घटना भएदेखि अहिलेसम्मको उपचार खर्च, मृतक तथा घाइतेको परिवारमा परेको आर्थिक क्षति र बालबालिकाको पठनपाठन खर्च परिपुरण गर्न पीडितका तर्फबाट ३ जना, माओवादी केन्द्रबाट ३ जना, माडी नगरपालिकाबाट एक जना मध्यस्थकर्ता रहेको छानविन समिति बनाउने सहमति पनि प्रचण्ड र पीडित पक्षबीच भएको छ । सो सहमतिपत्रमा एकतर्फ प्रचण्डले र अर्कोतर्फ घटनाका पीडितमध्ये चार जनाले हस्ताक्षर गरेका छन् ।
बाँदरमुढेमा १० विगाह क्षेत्रफलमा स्मारक, नमुना संग्राहलय तथा चिडियाघर निर्माण गर्ने प्रतिबद्धता पनि प्रचण्डले गरेका छन् ।
चितवन ३ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका प्रचण्ड बाँदरमुढे घटनाको १२ वर्षपछि मात्रै केही दिन पहिले त्यसस्थलमा पुगेर गल्ती भएको अभिव्यक्ति दिएका थिए । शान्ति प्रक्रियामा आएपछि पनि बारम्बार प्रधानमन्त्री बनेका प्रचण्डले आजसम्म बाँदरमुढे घटनाका पीडितलाई कुनै सम्बोधन गरेका थिएनन् । चुनावी दौडमा सकस परेपछि मात्रै प्रचण्ड बाध्य भएर पीडितलाई आश्वासन दिएको बुझिन्छ ।
प्रचण्ड र पीडितबीचको प्रतिबद्धता पत्र













