१७ मंसिर, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव नेपाललाई चुनाव जित्न सहज भएको छ । आफ्नो प्रतिश्पर्धी उम्मेदवार रहेका नयाँ शक्ति नेपालका उम्मेदवारले सो दल त्यागेर एमालेमा प्रवेश गरेका कारण नेता नेपालको पल्ला भारी भएको हो । नयाँ शक्ति नेपालका तर्फबाट काठमाडौं २ का प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले आज काठमाडौंमा गरेको कार्यक्रममा सिंखडाले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा एमालेमा औपपचारिक रुपमा प्रवेश गरेको घोषणा गरे।
नयाँ शक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका सिंखडालाई एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए । नेता नेपालले मुलुकको समृद्धि र विकासका लागि सम्पूर्ण कम्युनिस्ट एकताबद्ध हुनुपर्ने बताए । नेता नेपाल काठमाडौं २ बाट वामगठबन्धनका उम्मेदवार रहेका छन् ।












