१५ मंसिर, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको काठमाडौंको बुढानिलकण्ठस्थित निवास नजिक बम विष्फोट भएको छ । शुक्रबार साँझ राति साढे आठ बजे देउवा निवास पछाडि बम विस्फोट भएको हो । देउवाको निवासकै कम्पाउण्डपछाडि बम विष्फोट भए पनि कुनै क्षति नभएको नेपाल प्रहरीका डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् ।
विस्फोट कसले गराएको भन्नेबारे बुझ्ने काम भइरहेको र विष्फोट गराउनेको खोजी कार्य भैरहेको जानकारी डिएसपी थापाले दिए ।
त्यस्तै शुक्रबार साँझ ललितपुरको कुपन्डोलस्थित युएन पार्क नजिक पनि बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।
त्यस्तै शुक्रबार साँझ नै सवा सात बजेतिर काठमाडौंको गुर्जुधारा र सीतापाइलाको टुसालडाँडा मतदानकेन्द्र नजिकै बम विष्फोट भएको जानकारी प्राप्त भएको छ । शुक्रबार एकै समयमा काठमाडौंका चार स्थानमा बम विष्फोट भएपछि सुरक्षा निकायलाई व्यापक रुपमा परिचालन गरिएको छ । काठमाडौंका हरेकजसो चोकमा नेपाली सेना लगायतका सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सुरक्षा निकायका प्रमुखलाई विहीबार सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । यस्तो गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी समेत उनले दिएका थिए । तर देउवाको चेतावनीपछि बम पडकाउने समूह राजधानीकेन्द्रित बनेको देखिएको छ ।












