१५, मंसिर, काठमाडौं । भोट माग्नका लागि मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिहरुको तस्वीर तथा भिडियो दुरुपयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । कुनै पनि आन्दोलनमा सहिद भएका तथा विभिन्न झडपमा मारिएका व्यक्तिका तस्वीर तथा भिडियो दुरुपयोग गरे कानुनवमोजिमा कारवाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको हो ।
प्रदेश नं २ मा मधेस केन्द्रित दलहरुले आन्दोलनका क्रममा मारिएकाहरुको तस्वीर, आन्दोलनको भिडियो प्रयोग गरेर भोट मागिरहेको समाचार आएपछि आयोगले यस्तो निर्देशन दिएको हो । मधेसी दलहरुको यस्तो गतिविधिप्रति अन्य दलहरुले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।
आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा आन्दोलनको तस्वीर, ध्वनि तथा सहिदको तस्वीर प्रयोग नगर्न भनिएको छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सामाग्रीहरु निर्वाचन आचार संहिता विपरीत भएका र यस्ता सामग्रीहरुबाट सहिदको सम्मानमा समेत आघात पुग्ने भएकाले तत्काल हटाउन निर्देशन दिइएको छ ।’
आयोगको निर्देशन अटेरी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अनुगमनकर्तालाई समेत निर्देशन दिइएको छ ।
भोट बटुल्नका लागि मधेस आन्दोलनको भिडियो प्रदर्शन गर्ने राजपा कार्यकर्ताले विहीबार रौटहटमा प्रहरीमाथि आक्रमण गरेका थिए ।












