पार्टी प्रतिबद्ध नभएका दुई तिहाइ भोट तान्न जातीयता र पैसाको खेल
खगेन्द्र कर्ण
प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनअन्तर्गत हुने २ नं प्रदेशमा यतिवेला चुनावी सरगर्मी बढेको छ । देशका अन्य प्रदेशमा मूलतः वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच दुईपक्षीय प्रतिश्पर्धा हुने भए पनि यो प्रदेशमा भने तीन पक्षीय प्रतिश्पर्धा छ । वामगठबन्धन, कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र राजपा फोरम नेपालको मधेसकेन्द्रित दल गठबन्धनबीच २ नम्बर प्रदेशमा त्रिपक्षीय प्रतिश्पर्धा छ ।
२ नं प्रदेशको निर्वाचनको परिणामले प्रतिनिधि सभामा दलहरुको शक्तिआर्जनमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । । यो प्रदेशबाट ३२ जना प्रतिनिधि सभा सदस्य र ६४ जना प्रदेश सभा प्रतिनिधि चुनिँदै छन् । त्यसमा पनि २ नं प्रदेशमा बन्ने प्रदेश सरकार कसको पोल्टामा जाने हो भन्ने चासो समेत देशभर रहेको पाइन्छ त्यसैले यतिवेला २ नं प्रदेशमा जीवनमरणको सवाल बोकेर तीन राजनीतिक शक्ति चुनावी प्रचारको दौडमा लागेका छन् ।
चुनावको दिन नजिकिँदै जाँदा पार्टी प्रतिबद्ध भोट कसरी चोरेर आफ्नो पक्षमा पार्ने भन्ने दाऊमा राजनीतिक दल र उम्मेदवारहरु लागेका छन् । त्यसो त मधेसमा पार्टी प्रतिबद्ध भोट भन्दा पनि जातीय भोट नै चुनाव जित्ने हतियार बन्दै आएको छ । पछिल्लो अवस्थालाई हेर्दा २ नं प्रदेशको जम्मा भोटमध्ये एक तिहाई अर्थात् ३३ प्रतिशत पार्टी प्रतिबद्ध भोट देखिन्छ भने बाँकी दुई तिहाइ अर्थात् ६६ प्रतिशत प्रभावित प्रकारको छ । यही दुई तिहाइ भोटलाई आफ्नो पोल्टामा पार्ने कसरतमा तीनवटै गठबन्धन तथा उम्मेदवारहरु लागेका छन् ।
२ नं प्रदेशमा ६५ प्रतिशत भोट मधेसी समुदायको छ भने १५ प्रतिशत पहाडी समुदायको बाँकी मुस्लिम, थारु तथा अन्य समुदायबाट रहेको विश्लेषण छ । माथिको भोट ब्याङ्कका आधारमा दल तथा उम्मेदवारहरुले चुनावी कार्यक्रम लक्षित गरेका छन् । प्रभावित पार्न सकिने ६६ प्रतिशत भोटका लागि जातीय मुद्दादेखि पैसाका खेलहरु समेत भैरहेका छन् ।
कहाँबाट कुनकुन उम्मेदवार बलियो देखिन्छन् ?
मधेसी समदायको भोट जति सबै आफूहरुले बटुल्ने कसरतमा दुई प्रमुख मधेसी दल राजपा र फोरम नेपाल लागेका छन् । २ नं प्रदेशमा प्रदेश सरकार बनाउनेदेखि प्रतिनिधि सभामा बलियो उपस्थिति बनाउने गरी यी दलहरुले सबै प्रकारका चुनावी कसरत गरेको देखिन्छ । यति हुँदाहुँदै पनि सबै स्थानमा यी दुई दलका बलिया भने देखिँदैनन् ।
कांग्रेसबाट कुनकुन उम्मेवार बलियो
बढी चर्चामा रहेको धनुषा ३ मा विमलेन्द्र निधिको सम्भावना बलियो देखिएको छ । उनका प्रतिश्पर्धी राजेन्द्र महतो धनुषावासीका लागि अपरिचित व्यक्ति हुनु नै निधिले जित्ने सम्भावना बलियो हुनु हो । महतोले २२ जिल्लाको तराईलाई फुटाएर ८ जिल्लामा सिमित गरिदिएको बुझाइ मधसी समुदायमा छ । उनको दलले १ नं प्रदेश र ५ नं प्रदेशको स्थानीय निर्वाचन बहिष्कार गरेर २ नं प्रदेशको निर्वाचनमा मात्रै सहभागिता जनाउनुले यो प्रष्ट पार्दछ । निधिले जित्नु सम्भावनाको अर्को कारण हो महतोका सहयोगी सञ्जय शाहले जेलबाट नै निधिको पक्षमा मत माग्नेदेखि चुनावमा प्रभाव पार्न सक्ने व्यक्तिलाई निधिको पक्षमा खटाइरहनु ।
बारा ३ का कांग्रेस उम्मेदवार फरमुल्लाह मन्सुर पनि चुनाव जित्ने बलियो उम्मेदवारका रुपमा देखिएका छन् । मुस्लिम बाहुल्य क्षेत्र भएको र संविधानमा समानुपातिक समावेशीको व्यवस्था राख्न दवाव दिने व्यक्ति भएका कारण उनको सम्भावना बलियो देखिएको हो । मुस्लिम उम्मेदवारमा रौतहट २ का अफताव आलम पनि बलियो देखिएका छन् । यो पनि मुस्लिम बाहुल्य क्षेत्र हो । रौतहट ४ मा कांग्रेसकै देवी तिमिल्सेना वंशीधर मिश्रभन्दा बलियो देखिन्छन् । पहाडी बाहुल्य क्षेत्र भएकोले तिमिल्सेनाको सम्भावना बलियो देखिएको हो ।
सर्लाही ४ बाट अमरेशकुमार सिंहलाई चुनाव जित्न सजिलो देखिएको छ । प्रमुख प्रतिश्पर्धी शिवपूजन यादवको उम्मेदवारी खारेजी हुनु र यहाँको विकास निर्माणमा गरेको भूमिकाले उनको सम्भावना बलियो छ । महोत्तरी ४ मा कांग्रेसका जिल्ला सभापति महेन्द्र राय यादवको भोट ब्याङ्क राम्रो देखिएको छ भने विचारकका रुपमा देखिएका प्रदीप गिरीले सिराहा १ बाट जित्ने सम्भावना छ । मधेस आन्दोलनका समर्थक भएकाले पनि गिरीलाई मधेसी समुदायको भोट आउने देखिन्छ । फोरम नेपालका राजलाल यादव उनका प्रतिश्पर्धी भए पनि राष्ट्रिय व्यक्तित्व भएकाले गिरीप्रतिको आकर्षण मतदातामा देखिन्छ ।
सप्तरी ३ मा जिल्ला सभापति दिनेश यादवले जित्ने सम्भावना देखिन्छ । राजपा र वामगठबन्धनका दुवै उम्मेदवार थारु समुदायबाट भएकोले यादव समुदायको भोट दिनेशले तान्ने अनुमान गरिएको छ । पर्सा २ मा अजय चौरसियाले विमल श्रीवास्तवलाई पराजित गर्ने देखिएको छ । श्रीवास्ताव स्थानीय निर्वाचनमा पराजित व्यक्ति तथा बारम्बार दल परिवर्तन गरिरहने अस्थिर व्यक्ति भएकोले यसपल्ट श्रीवास्तावप्रति मतदाता सकारात्मक देखिँदैनन् । धनुषा ४ बाट खानेपानी मन्त्री महेन्द्र यादवको जित्ने सम्वाना छ । पूर्वराष्ट्रपति रामवरण यादवको समेत सहानुभूति रहेका कारण महेन्द्र यादव बलियो देखिएका छन् ।
वामगठबन्धनबाट कोको बलियो
वामगठबन्धनका उम्मेदवारहरुमध्ये मात्रिका यादव सबैभन्दा बलियो उम्मेदवारका रुपमा रहेका छन् । धनुषा १ बाट उम्मेदवार बनेका यादव मधेसको अधिकारका लागि लडेका व्यक्ति भएको र भ्रष्ट्राचार समेत नगरेको छवि यादवसँग छ । यादवका प्रतिश्पर्धी कांग्रेसका आनन्द ढुङ्गाना छन् र उनको भोट काट्ने गरी कांग्रेसका पूर्व स्थानीय नेता दीपक कार्की उम्मेदवार बनेका छन् ।
सिराहा ४ मा वामगठबन्धनका उम्मेदवार अजयशंकर नायक बलियो देखिएका छन् । राजपाबाट राजकिशोर यादव प्रतिश्पर्धी रहे पनि उनी अलोकप्रिय र मन्त्री हुँदा समेत विकासका काम नगरेको राजकिशोरको खराब छविका कारण नायक बलियो देखिएका हुन् । नायकले कानुनमन्त्री हुँदा काम गरेको र जातीय पकड बलियो भएकाले उनले जित्ने सम्भावना बलियो छ ।
महोत्तरी १ का वाम उम्मेदवार गिरिराजमणि पोखरेलको जित पनि सजिलो देखिएको छ । मन्त्री हुँदा गरेका लोकप्रिय काम र जिल्लामा गरेका विकासका कामले गर्दा पोखरेल जित सुनिश्चितजस्तै देखिएको छ । रौतहट ३ बाट प्रभु शाहले जित्ने देखिएको छ । विकास निर्माणमा दिएको तीव्रताका कारण उनी सो क्षेत्रमा प्रख्यात छन् । उनले ४५ करोड रुपैयाँ त सो क्षेत्रको विकास निर्माणको योजनामा पारेका छन् ।
पर्सा ४ बाट वाम उम्मेदवार उर्मिला अर्याल बलियो देखिएकी छिन् । यो क्षेत्र पहाडी बाहुल्य क्षेत्र हुनुका साथै राजपाका लक्ष्मणलाल कर्ण जनसमुदायमा लोकप्रिय नभएकाले अर्यालको पकड बलियो देखिन्छ । त्यस्तै सर्लाही ३ मा पनि वामगठबन्धनले जित्ने देखिएको छ ।
मधेसी गठबन्धनको जातीय पकड
मधेसकेन्द्रित दल भनेर चिनिएका राजपा र संघीय समाजवादी फोरम नेपालले प्रदेश नं २ मा संयुक्त गठबन्धन बनाएर चुनाव लडेका कारण यो गठबन्धनको बलियो पकड देखिएको छ । मधेस प्रदेश बनाउने र विवाहयोग्य युवतीलाई मंगलसूत्र दिने राजपाको घोषणापत्रले मधेसमा धेरैथोरै काम गर्ने देखिन्छ । दोस्रो मधेस आन्दोलनपछि चुनावमा गएको गठबन्धनका कारण मधेसी समुदायको मत यो गठबन्धनतिर जानसक्ने देखिन्छ । यो गठबन्धनका नेताले चुनावमा नजिते फेरि आन्दोलन गरेर मधेसलाई फेरि तहसनहस गर्ने हुन् कि भन्ने चिन्ता पनि मधेसी जनतामा देखिन्छ । मधेसी दलको गठबन्धनले जितेमा मधेसीको अधिकार सुनिश्चित हुने कुरामा मतदाता विश्वस्त त छैनन् तर जातीय भोट ब्याङ्कमा भने यो गठबन्धनले अवश्य प्रभाव पार्ने छ । पार्टीप्रतिबद्ध नरहेका दुई तिहाइ मतलाई प्रभाव पारेर चुनाव जित्ने कसरतमै यो गठबन्धन लागेको देखिन्छ ।
प्रकाशित मिति १५ मंसिर, २०७४
यो पनि पढ्नुहोस्
यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट













