डम्बर शिवाकोटी
नागरिक, काठमाडौं क्षेत्र नं. १
————————————–
आम नागरिकको लामो संघर्ष र दवावपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनमा विदा दिने निर्णय सरकारले गरेको छ । आम नागरिक तथा राप्रपा अध्यक्ष कमल थापाको निरन्तरको प्रयासपछि मात्रै पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते विदा दिने निर्णय सरकारले गरेको सबै नेपालीलाई अवगत नै छ । राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा बोकेर दोस्रो संविधान सभामा चौथो दल बनेपछि राप्रपा (तत्कालीन राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले आफ्ना एजेण्डा विर्सिए भन्नेहरुका लागि ढिलै भए पनि यो एउटा गतिलो उदाहरण बनेको छ ।
विशाल नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहको जन्मदिनमा विदा दिने निर्णयले नै राजतन्त्रको एजेण्डा बलियो बन्ने निश्चित छ । बाह्य हस्तक्षेपबाट देशलाई जोगाउन राजसंस्था अनिवार्य छ । विश्वमै आफ्नो पहिचान रहेको नेपालको प्रमुख पहिचान हिन्दू धर्म र संस्कृति नै हो । तत्कालीन राप्रपा नेपाल हुँदै हालको राप्रपाले उठाएको अर्को प्रमुख एजेण्ड हिन्दू राष्ट्रको पहिचान पनि यो चुनावपछि बलियो बन्ने छ । यसपल्ट कमल थापाले राजसंस्थाका धरोहर तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रतिको सम्मानलाई स्थापना गर्न सफल भएका छन् । अबको निर्वाचनपछि संसदमा राप्रपा बलियो शक्ति बन्यो भने भने हिन्दू राष्ट्रका पक्षमा पनि केही नयाँ काम अवश्य हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
त्यसैले हिन्दू राष्ट्रका पक्षधरहरुकोे दल कमल थापा नेतृत्वको राप्रपा नै हो । अरु बेला हिन्दू राष्ट्र र राजतन्त्रको एजेण्डा छोड्ने र चुनावका वेला मात्रै भोट माग्न यी एजेण्डाको कुरा गर्ने अन्य दलहरुप्रति पनि यतिवेला सचेत हुनु आवश्यक छ ।
तत्कालीन राप्रपा नेपाल (हालको राप्रपा) ले राष्ट्रियताका पक्षमा गरेका अन्य काम पनि हेर्न जरुरी छ । नयाँ संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीका विरुद्धमा उभिने काम तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको सर्वविदित नै छ । तत्कालीन सरकारमा सहभागी कमल थापाको प्रयास र कसरतकै कारण नाकाबन्दी असफल भएको कुरा पनि स्मरणीय छ । चीनसँग पारवहन सम्झौताको वातावरण मिलाउनेदेखि भारतले गरेको नाकाबन्दीका विरुद्ध सशक्त रुपले उभिने काम एक जिम्मेवार मन्त्रीका नाताले थापाले नै गरेका थिए । सरकारको नेतृत्व गरेका कारण प्रमुख श्रेय एमाले र केपी ओलीलाई जानु स्वभाविक नै हो । तर, सोही सरकारमा सहभागी बनेको राप्रपा नेपाल (कमल थापा) ले राष्ट्रियताका पक्षमा गरेको कामको बारेमा कमै चर्चा हुने गरेको छ । सरकारको नेतृत्व गर्न सक्ने गरी मत नपाएको र सत्ता साझेदार दलको नेता भएको हैसियतले थापाले जति गर्न सक्थे त्यति गरे, त्यसलाई हरेक राष्ट्रवादी नेपालीले सम्झनै पर्छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जानुअघि वामपन्थीहरुले गठबन्धन बनाएपछि अन्य दलहरुले पनि गठबन्धन गरेरै चुनावमा होमिएका छन् । राप्रपाले पनि राष्ट्रियता, हिन्दूत्व र राजतन्त्रको एजेण्डालाई बलियो बनाउने उद्देश्यसहित विभिन्न स्थानमा गठबन्धन गरेको छ । गाई चुनाव चिन्ह लिएर पाँच जिल्लामा प्रत्यक्ष उम्मेदवारी दिएको राप्रपाले यसपल्ट पनि समानुपातिकमा देशभरिबाट नै उल्लेखनीय मत ल्याउने अपेक्षा गरेको बुझिन्छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षसहित समानुपातिकामा उल्लेखनीय मत ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण राप्रपा पनि त्यही कसरतमा लागेको देखिन्छ । राप्रपा राष्ट्रिय पार्टी बन्नुका साथै संसदमा बलियो उपस्थिति भए मात्रै राष्ट्रियता, हिन्दूत्व र राजसंस्थाको एजेण्डा बलियोसँग उठ्न सक्छ । कुनै दलबाट उम्मेदवार नरहेको र एक सामान्य नागरिक भएको हैसियतले मैले बुझेको यही हो । मैले जस्तै आम नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि यतिवेला दलहरुका विगतका कामको मूल्याङ्कन अवश्य गर्नुभएकै छ र आफ्नो विवेक प्रयोग गर्नु नै हुने छ ।
त्यसैले मेरो अनुरोध मत दिने वेलामा एकपल्ट गहिरिएर सोचौं राष्ट्रियता र राष्ट्रको पहिचानको रक्षा गरौं ।
प्रकाशित मिति १५ मंसिर, २०७४
यो पनि पढ्नुहोस् :
यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट












