१४ मंसिर, ललितपुर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ वामपन्थी शक्ति एकीकृत रुपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताएकी छिन् ।
ललितपुरको खोकनामा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गदै उनले वामपन्थी शक्ति एकजुट भएर चुनाव र पार्टी एकता प्रक्रियामा जाँदा विपक्षी आत्तिनुनपर्ने धारणा व्यक्त गरिन् । उनले भनिन् “कम्युनिष्टको सरकार गठन भए नागरिक स्वतन्त्रता हनन् हुन्छ भन्दै आफूलाई लोकतान्त्रिक बताउने नेपाली काँग्रेस नै रोइलो गर्दै हिँडेको छ । जनतालाई अधिकार दिन हामी तयार छौँं । प्राप्त भएको अधिकार कोही कसैले पनि खोस्न सक्दैन । कांग्रेसभन्दा कम्युनिस्ट नै बढ्ता लोकतान्त्रिक छन् ।”
प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं ३ मा वाम गठन्धनकी संयुक्त उम्मेदवार भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने, कलासंस्कृतिको संरक्षण गर्ने तथा नागरिकका दैनिक समस्या समाधान गर्ने ललिलतपुर वाम गठन्धनको मूलमन्त्र रहेको स्पष्ट गरिन् ।
कार्यक्रममा एमाले नेतृ सुशीला नेपालले वाम गठबन्धनपछि मतदातामा नयाँ खालको उत्साह पैदा भएको जिकिर गरिन् । ललितपुर क्षेत्र नं ३ खमा प्रदेशसभा सदस्य उम्मेदवार जीवन खड्काले ललितपुरको विकास र समृद्धिको स्पष्ट खाका कोर्नका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको धारणा व्यक्त गरे ।












