१४ मंसिर, काठमाडौं । भर्चुअल मुद्रा बिटकोइन सुरु भएको आठ वर्ष पुगेको छ तर यसको मूल्य चमत्कारिक रुपले बढिरहेको छ । यसमा केही हजार डलर लगानी गर्नेले अहिले करोडौं डलर कमाइसकेका छन् । विटकोइन अवैधानिक भएको पिरामिड शैलीको गोल्डकोस्ट प्रकृतिको रहेको भनी विश्वका नामी वित्तीय संस्थाले बताइरहे पनि यसको आकर्षण बढिरहेको छ । यसको आकर्षण र मूल्य असिमित रुपमा बढ्नुको कारण के हो भनी विश्वको ध्यान यतैतिर खिचिएको छ । वित्तिय संस्थाहरुले यसको कुनै भविष्य छैन भनिरहे तापनि यसको मूल्य भने आकासिँदो छ ।
सन् २०१७ को ११ महिनामा एक बिटकोइनको मूल्य लगभग १२ लाख रुपैयाँ पुगेको छ । एक वर्षअघि बिटकोइनको मूल्य ७५३ डलर थियो । यो हिसाबले यसको मूल्य एक वर्षमा लगभग १३ सय प्रतिशत वृद्धि भइसकेको छ ।
युरोपेली मुलुक लक्जम्बर्गमा भएको बिटकोइन एक्सचेन्जका अनुसार, बिटकोइनले यस वर्ष आफ्नो यात्रा एक हजार डलरबाट शुरु गरेको थियो । सन् २००९ मा शुरु गरिएको बिटकोइनको मूल्यमा भारी उतारचढाव आइरहन्छ ।
प्रत्यक्ष रूपमा नदेखिने मुद्राको अस्तित्व हुने अनि त्यसको भाउ दिनदिनै बढ्दै जाने कसरी सम्भव हुन्छ ? जानकारहरूका लागि यो प्रश्नको जवाफमा अर्को प्रश्न पनि लुकेको छ : आखिर बिटकोइनमा कसको लगानी भैरहेको छ ?
सर्च फर्म अटोनोमस नेक्स्टले यसलाई पत्ता लगाउन खोज्यो । यसका पछाडि हेज फन्ड्सको हात रहेको उसको दावी छ । हेज फन्ड्सले शेयर किन्छ र फाइदामा बेच्छ । यी फन्डहरूले बिटकोइनमा पनि यसै गर्छन् ।
अटोनोमस नेक्स्टका अनुसार, यस वर्ष बिटकोइनको खरिदबिक्रीमा हेज फन्ड्सको हिस्सा ३० बाट बढेर १३० प्रतिशत पुगेको छ ।
त्यसै कारणले बिटकोइनले अत्यधिक फाइदा गरेको हो । संसारमा सबभन्दा धेरै फाइदामा रहेका कम्पनीहरू डिज्नी, आईबीएम र म्याक्डोनल्ड्स त यसको नजिक पनि छैनन् ।
वित्तविश्लेषक बिलेलोले सात वर्षअघि कसैले बिटकोइनमा १० हजार डलर लगानी गरेको भए आज त्यसको मूल्य बढेर ११० करोड डलर पुगेको बताएका छन् ।
- बिटकोइन एक भर्चुअल मुद्रा हो र यसमा कुनै सरकारी नियन्त्रण छैन । यो बिटकोइन गोप्य मुद्रा हो र यसलाई सरकारबाट लुकाएर राख्न सकिन्छ ।
बिटकोइन एक भर्चुअल मुद्रा हो र त्यसमा कुनै सरकारी नियन्त्रण छैन । यस मुद्रालाई कुनै पनि बैंकले जारी गरेको होइन । यो कुनै पनि देशको मुद्रा नभएकोले यसमा कर पनि लाग्दैन । बिटकोइन गोप्य मुद्रा हो र यसलाई सरकारबाट लुकाएर राख्न सकिन्छ ।
यसलाई संसारमा कतै पनि सिधै किन्न र बेच्न सकिन्छ । शुरुवातमा कम्युटरमा धेरै जटिल कार्य गरेपछि यो क्रिप्टोकरेन्सी कमाइन्थ्यो ।
प्रत्येक बिटकोइन कम्युटरमा एक फाइल हो जसलाई स्मार्टफोन वा कम्प्युटरको डिजिटल वालेटमा राखिन्छ । प्रत्येक कारोबारलाई एक सूचीमा चढाइन्छ र त्यसलाई ब्लकचेन भनिन्छ । यो करेन्सी कोडमा भएकाले यसलाई जफत गर्न पनि सकिन्न अनि नष्ट गर्न पनि सकिन्न ।
बिटकोइन हासिल गर्ने तीन मुख्य तरिका छन् । असली पैसाले किन्ने, उत्पादन र सेवाको साटो बिटकोइनमा भुक्तानी गरेर र आफ्नै भर्चुअल मुद्रा भएको नयाँ कम्पनीको माध्यमले यो हासिल गर्न सकिन्छ ।
बिटकोइन मूल्यवान हुन्छ किनकि मानिसहरू असली सामान र सेवाको बदलामा यसलाई किन्न इच्छुक छन् । नगद दिएर पनि मानिस बिटकोइन किन्न हिचकिचाउँदैनन् ।
सन् २००९ मा सातोशी नाकामोतो नामक जापानी समूहले संसारसामु बिटकोइन पेश गरेको थियो । संसारमा अहिले ७०० भन्दा बढी भर्चुअल मुद्रा इन्टरनेटबाट सञ्चालित भइरहेका छन् । नयाँनयाँ कम्पनीहरूले दिनदिनै भर्चुअल मुद्रा लिएर आइरहेका छन् ।
भर्चुअल मुद्राको प्रमुख सिद्धान्त भनेको यसको कारोबार संसारको कुनै पनि कुनामा बसीबसी इन्टरनेटको माध्यमबाट गर्न सकिन्छ । लेनदेन एक्सचेन्ज फर्ममार्फत हुन्छ ।
- बिटकोइनमा गिरावट आउन पनि सक्छ
बटकोइनप्रति अहिलेको आकर्षण हेर्दा यसमा गिरावट आउन सक्ने देखिँदैन । तर हेज फन्डहरूले अचानक पैसा फिर्ता लिए भने यस गिरावट पनि आउन सक्ने सम्भावना छ।
द न्युयोर्क टाइम्समा एक लेखमा उल्लेखित छ, ‘एक ठूलो लगानीकर्ताले आफ्नो पैसा खिच्दैछ भनी खबर लिक भयो भने हल्लाखल्ला मच्चिन्छ अनि अन्य निवेशकले पनि आफ्नो रकम निकाल्न सक्छन् ।’
अमेरिकाको सबभन्दा ठूलो बैंक जेपी मोर्गन चेजका सीईओ जेमी डिमोन र प्रसिद्ध लगानीकर्ता वारेन बफेले बिटकोइनलाई फर्जी मुद्रा भने छन् । विश्वका बैंकहरुका लागि बिटकोइन चुनौति बन्दै गएको छ । दुनियाको आकर्षण बढ्दै गरेको बिटकोइनलाई कसरी बैंकिङ कारोबारमा ल्याएर नाफा सकिन्छ भनी विश्वका ठूला बैंकहरु समेत यसको कसरतमा लागेका छन् ।














