१३ मंसिर, वालिङ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई वाम गठबन्धनले समाप्त पारेर कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप लगाएका छन् ।
स्याङ्जाको वालिङमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र रोज्ने कि कम्युनिस्ट दमनको शासनमा एकदलीय तानाशाही शासन व्यवस्था रोज्ने यसको छिनोफानो आगामी निर्वाचनमा जनताले आफ्नो मतमार्फत गर्ने बताए ।
“संसारमा कम्युनिस्ट शासनको शुरुआत भएका देशमा पनि अहिले कम्युनिस्ट व्यवस्था अन्त्य हुँदैछ”– प्रधानमन्त्री देउवाले भने- “संसारमा असफल भएका वाद यहाँ ल्याउन खोजिएको छ, त्यो सफल हुँदैन ।”
सो चुनावीसभामा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले समस्या मात्रै जन्माउने तर समाधान दिन नसक्ने दावी गर्दै समस्याको समाधानका लागि काँग्रेस चाहिने बताए ।
उनले मुलुक अब लोकतन्त्रको बाटोमा अगाडि बढिसकेकाले यसलाई कुनै पनि तागतले रोक्न नसक्ने बताए । नेता पौडेलले यो निर्वाचन नेपाली जनताको भाग्य र भविष्य कोर्ने निर्वाचन भएकाले लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणका लागि काँग्रेसलाई विजयी बनाउन आग्रह गरे । आमसभामा काँग्रेस चुनाव प्रचारप्रसार अभियानका संयोजक बालकृष्ण खाँण, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताले सम्बोधन गरेका थिए। श्रेष्ठ स्याङ्जा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका छन् ।












