१३ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि देशबाट लोकतन्त्र नमासिने तर कांग्रेसको शासनसत्ताचाहिँ मासिने बताएका छन्। कांग्रेसले ‘कम्युनिस्ट शासन आए लोकतन्त्र मासिन्छ’ भनेकोतर्फ लक्षित गर्दै ओलीले लोकतन्त्र नभएर कांग्रेसको शासन मात्र मासिने बताएका हुन्। चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका ओलीले बुधबार भद्रपुर विमानस्थलमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा भने, ‘कांग्रेस लोकतन्त्र हो, लोकतन्त्र नै कांग्रेस हो भनेर कुदिरहेका छन्, कांग्रेस सरकारमा नहुँदा लोकतन्त्र नै रहँदैन भनेको सुन्दा अचम्म लागेर आउँछ।’ उनले कांग्रेस आफ्नो फाइदाका निम्ति चल्ने पार्टी भएको आरोप लगाए।
कांग्रेसमा लोकतन्त्रको अभ्यास, सुशासन, पारदर्शिता र सद्भाव भन्ने कुरा नै नभएको उनको जिकिर छ। साथै ओलीले कांग्रेसलाई समाप्त हुनबाट जोगाउन आफूहरुले ५ वर्षसम्म प्रतिपक्षमा राखेर सिकाउने बताए। ‘अबको चुनावपछि काँग्रेसलाई समाप्त हुनबाट जोगाउन ५ वर्ष प्रमुख विपक्षी पार्टी बनाएर हामीले सिकाउनु छ’, ओलीले भने, ‘सरकार चलाएको देखेर कांग्रेस सर्पिएर आएमा देशको लोकतन्त्र अझ बलियो हुन्छ।’ अर्को एक फरक प्रसंगमा ओलीले आफूले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताए। निर्वाचन आयोगले स्पष्टिकरण सोधेको विषयमा पत्रकारको जिज्ञासाको जवाफमा ओलीले भने, ‘मेरो तर्फबाट निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कुनै किसिमको प्रचारप्रसार भएकै छैन, कसले गरायो, कसरी गरियो मलाई थाहा छैन।’












