१३ मंसिर, दाङ । मंगलबार दाङ तुलसीपुरको बम विष्फोटमा परी घाइते भएका एक म्यादी प्रहरीको ज्यान मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी २३ बर्षका विनोद चौधरीको ज्यान गएको हो । उपचारको क्रममा आज विहान साढे दुई बजे कोहलपुरमा उनको मृत्यु भएको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए । विष्फोटमा चौधरीसहित अन्य ८ जना घाइते भएका थिए ।
मंगलबार आयोजित कांग्रेसको चुनावीसभालाई लक्षीत गरी तलसीपुरमा बम विष्फोट भएको थियो । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
सोही ठाउँ निवासी १९ बर्षका अर्का म्यादी प्रहरी विनोद चौधरी भने उपचार पछि घर फर्किएका छन । घाइते तीन जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ डाँडापातु निवासी २२ बर्षकी जेनी डेसी, बबई गाउँ पालिका ६ पञ्चकुले निवासी, ३६ बर्षका नेपबहादुर खत्री र सल्यानको बागचौर नगरपालिका २ थारमारे निवासी ४० बर्षका देवि डिसीको नेपालगञ्जमा उपचार भैरहेको हो ।
यस्तै मानपुर निवासि बर्ष ४० का बोमराज सुनार, शान्तिनगर गाउँपालिका २ अमुवा निवासी ५० बर्षका हीमलाल रामजाली, वुड्कवा निवासी १८ बर्षकी सुनीता चौधरी र सल्यान ढोरचौर गाउँपालिका २ चाख्लीघाट निवासी ४५ बर्षकी नरभूमि बुढाथोकीको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।












