१२ मंसिर, काठमाडौं । प्रतिनिधि सभासदस्य निर्वाचनका लागि सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नं. १ मा वामगठबन्धनका उम्मेदवार अनिल शर्मालाई कलिलो भनेकोप्रति एमाले अध्यक्ष ओली आक्रोस व्यक्त गरेका छन् । नयाँ वानेश्वरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने- ‘छिप्पिएकै चाहिने हो भने छिप्पिएको म छु, विकासको जिम्मा मै लिन्छु ।’
सामाजिक संजालमा चर्को प्रचारप्रसार गरेका विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रप्रति कटाक्ष गर्दै ओलीले राजनीतिको पाठ पनि सिकाए । राजनीति गर्ने क्रममा चौध वर्ष जेल जीवन विताएका ओलीले भने- ‘राजनीति भनेको रेडियो समाचार भनेजस्तो सजिलो हुँदैन ।’ मिश्रलाई केटाकेटीको सज्ञा दिँदै ओलीले थपे- ‘केही भाइबहिनी अहिले आएका छन्, राजनीतिप्रति यो आकर्षणका लागि धन्यवाद भन्न चाहन्छु खेलाडीहरु मैदानमा खेलिरहेका हुन्छन्, छेउपट्टि केटाकेटीहरु छेउमा सिको गरिराखेका हुन्छन् ।’ ओलीले थपे- ‘सिक्नु र खेल्नु बैग्लै कुरा हो ।’
एमाले अध्यक्ष ओलीले म्याच खेल्नु र खेल खेल्न सिक्नु फरक भएको समेत बताए । उनले भने मेस्सीले खेल्दै गरेको ठाउँमा कस्तो हुँदोरहेछ, कत्तिको साह्रो छ, भकुण्डो म पनि हानी हेर्छु भनेर त्यस्तो खेलाडीले काम चल्दैन ।’
ओलीले कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको समेत आलोचना गरे । नेपालमा भारतले नाकाबन्दी गरेको समयमा सिंह राष्ट्रसंघको सभामा गएर नेपालमा नाकाबन्दी नभएको झुटो कुरा गरेर देश र जनताप्रति घात गरेको ओलीले उल्लेख गरे। उनले भने नेपालमा नाकाबन्दी लागेको छ, जनताको चुलो बलेको छैन, उहाँले नाकाबन्दी छैन भन्नुभयो ।’
चुनावी सभामा बोल्दै एमाले नेता माधव नेपालले वामगठबन्धनलाई जिताउन आग्रह गरे । काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार अनिल शर्माका दाइ जनार्दन शर्मा समेत चुनावी सभामा सहभागी थिए ।















