१२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचारप्रसारका क्रममा नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई उल्लंघन गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजरी परेको छ । एमालेलाई अविलम्ब कारवाहीको माग गर्दै मंगलबार निर्वाचन आयोगमा उजुरी परेको हो ।
काठमाडौं महानगरपालिका वडा नं ३२ का अमृत कार्कीले एमालेविरुद्ध उजुरी गरेका हुन् । उजुरीमा निर्वाचन आचार संहिता तेस्रो संशोधन २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च र ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख भएकोमा मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरुमा त्यसको उल्लंघन हुने गरी समाचार छापिएको उजुरी कार्कीले गरेका हुन् । कान्तिपुर, नागरिक, अन्नपूर्णपोस्ट र नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित “सुखी जनता, समृद्ध नेपाल, सुशासन र स्थिरताको लागि वामपन्थी सरकार !” भन्ने सन्देशसहित छापिएको विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएकोे उनले उल्लेख गरेका छन् ।
आचारसंहिताअनुसार एउटा पत्रिकामा एक दिनमा एउटा मात्र विज्ञापन प्रकाशित गर्न पाइने व्यवस्था भएको दावी गर्दै कार्कीले ४÷४ वटा राष्ट्रिय दैनिकमा एकैचोटी विज्ञापन गरी नेकपा एमालेले निर्वाचन आचार संहिता विपरीत काम गरेको दावी गरेका छन् । एमालेको यस्तो कार्यका विरुद्ध अविलम्ब कारवाही गर्न निर्वाचन उजुरीमार्फत आयोगलाई आग्रह गरिएको छ ।












