११ मंसिर, तेह्रथुम । संविधान सभाका दई कार्यकालमै समानुपातिक कोटामा सभासद् बनेकी तर यसपल्ट कांग्रेसका केही नेताको तीव्र ईच्छाविपरीत पनि समानुपातिकतर्फको चिठ्ठा नपाएकी कांग्रेस नेतृ सीता गुरुङलाई भोट माग्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर लिएर तेह्रथुम पुगेका छन् । सीताका लागि भोट माग्न देउवाको पछिपछि लागेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत सोमबार तेह्रथुम पुगे । म्याङ्लुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सीतालाई नै केन्द्रविन्दूमा राखेर वामपन्थी दललाई गाली गरे भने सीतालाई जुझारु क्रियाशील नेतृको संज्ञा दिए ।
सीतालाई भोट माग्दै कांग्रेस सभापति देउवाले भने- ‘ जारी निर्वाचनमा कम्युनिस्ट गठबन्धनले बहुमत पाए नेपालमा फेरि निर्वाचन नै हुने छैन ।’

सोमबार तेह्रथुमको सरदमुकाम म्याङ्लुङमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै देउवा ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार कम्युनिस्ट शासनमा नरहने’ दावी गरेका हुन् । उनले भने- ‘कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन् ।’
वामगठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजनामा दुई प्रमुख कम्युनिस्ट दल रहेको तर्क प्रधानमन्त्री देउवाले गरे । कम्युनिस्टहरुको आलोचना गरिसकेपछि अन्तिममा देउवाले आफ्नो दलकी उम्मेदवार सीता गुरुङलाई जिताउन आग्रह गरे ।
सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत सम्बोधन गरेका थिए । पौडेलले सम्बोधन गर्दै भने- ‘तत्कालीन राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन् , यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन ।’
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवं तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले प्रत्यक्ष निर्वाचित पुरुष नेताहरुको असहयोगकै कारण आफूले विगतमा जिल्लाको विकास गर्न नसकेको बताएकी थिइन् । अढाई दशकसम्म जिल्लाको ताला चाबी वामपन्थीको हातमा परेकाले पनि विकास निर्माणमा जिल्ला पछि परेको समेत उनले बताइन् ।











