११ मंसिर, काठमाडौं । एमाले नेता माधवकुमार नेपालले मुलुकमा अब अर्को महत्त्वपूर्ण क्रान्तिको आवश्यकता रहेको बताएका छन् । संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता नेपालले देशमा अब अर्को महत्त्वपूर्ण क्रान्तिको आवश्यकता रहेको बताएका हुन् । अबको महत्त्वपूर्ण क्रान्ति देशलाई समुन्नत बनाउने आर्थिक क्रान्ति रहेको उनले बताए । देशमा राजनीतिक क्रान्ति पूरा भइसकेको उल्लेख गर्दै उनले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका हुन् ।
उनले नेपालमा लामो समयदेखि भइरहेको राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै अब यसलाई संस्थागत गर्ने र जनताको आर्थिक पहुँचलाई विकास गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले देशमा भएका साधन र स्रोतलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग भएको बताउँदै आगामी निर्वाचनमा जनताले सोही गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा नेपाललाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका नेता नेपालले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा स्थानीय, प्रदेश र केन्द्रको समन्वय हुनुपर्ने औँल्याउँदै स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अब प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जनताले जिताउने विश्वास व्यक्त गरे ।












