१० मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घटनाको १२ वर्षपछि बाँदरमुढे घटना आफूहरुको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेका छन् । चितवनको माडीस्थित बाँदरमुढेमा आइतबार विहान पुगेर बम आक्रमणमा मारिएकाहरुको स्मृतिमा निर्माण गरिएको स्मारकमा फूल चढाउँदै प्रचण्डले गल्ती स्वीकार गरेका हुन् । बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताउँदै प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त समेत गरे ।
बाह्र वर्षअघि विसं २०६२ जेठ २३ गते माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित हुँदै आएकबो छ । माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना २ ख ३२४५ नंको बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । सुरक्षाकर्मी चढेको बसलाई एम्बुसमा पार्दा निर्दोष मानिसहरुले ज्यान गुमाएका थिए ।
घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुगेका हुन् । चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । चितवनबाट प्रचण्डको उम्मेदवारीपछि बाँदरमुढे घटनाका कारण उनले मतदाताको समेत आलोचना खेप्नु परेको छ । चुनावी प्रचारका लागि माडीको बाँदरझुलामा घरदैलो र चुनावी सभामा जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका हुन् ।












