१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत आज ३२ जिल्लामा विहानैदेखि मतदान सुरु भएको छ । संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको पहिलो पटकको निर्वाचनमा मतदाताहरु विहानैदेखि मतदानमा सहभागी भएका छन् । मंसिरको जाडो याममा पनि विहानै उठेर मतदाताले धमाधम मतदान गरेको जानकारी विभिन्न जिल्लाबाट प्राप्त भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म जारी रहनेछ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान भैरहेको छ । पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।












