८ मंसिर, धनकुटा । उद्योगमन्त्री तथा धनकुटाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी आज धनकुटामा बम विस्फोट गराइएको छ ।
निर्वाचनका लागि धनुकटामा रहेका मन्त्री थापालाई लक्षित गर्दै छिन्ताङसहिद भूमि गाउँपालिकाको साप्तिङटार फक्सिङमा बम विस्फोट गराइएको प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
निर्वाचन विरोधी गतिविधिमा सक्रिय विप्लव नेतृत्वको नेकपा माओवादीले बम विस्फोट गराएको आशंका प्रहरीले गरेको छ ।
खोला नजिकको क्षेत्रमा बट्टामा बारुद भरेर बम पड्काएको पत्ता लागेको धनकुटा प्रहरी प्रमुख एसपी सुदिप राजभण्डारीले जानकारी दिए । राजभण्डारीले मन्त्री सकुसल रहेको जानकारी दिएका छन् । बम पड्काउने व्यक्ति फरार भएका छन् भने उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।












