८ मंसिर, काठमाडौं । भारतका धर्मगुरुले महिलामाथि यौनशोषण गर्ने समाचार व्याप्त भैरहेका वेला नेपालमा पनि चर्चामा रहेका धर्मगुरुको यस्तै कर्तुत सार्वजनिक भएको छ । उपचारको नाममा धार्मिकस्थल र आफ्नै आश्रममा महिलालाई यौनशोषण गरेको आरोपमा एक धर्मगुरु पक्राउ परेका हुन् । काठमाडौंको चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामाले गुम्बामा गएका महिलालाई लठ्याउने औषधी खुवाएर यौनशोषण गर्ने गरेको कुरा खुलेको हो । उनले अश्लिल फोटो र भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने तथा सामाजिक सञ्जालमा समेत पोस्ट गर्ने गरेको प्रमाणसहित प्रहरीको अनुसन्धान व्युरो सिआइबीले उनलाई पक्राउ गरेको हो । उनले गुम्बाभित्रै महिलालाई बलात्कार गर्ने गरेको तथ्य भेटिएको प्रहरीले जनाएको छ ।
लामाले उपचारका लागि आउने युवतीलाई सुसारे बनाएर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ ।
उनले महिलाहरुलाई लठ्याएर यौनशोषण गर्ने र त्यसबारे कसैलाई बताए अनिष्ट हुने भन्दै थप यौनशोषण गर्दै आएका थिए । सिआईबीमा दुई महिलाले उजुरी गरेपछि उनको यो कर्तुतको खुलासा भएको हो । लामाले धेरै महिलालाई यौनशोषण गरेको आशंकामा अनुसन्धान जारी राखेको छ ।
गुम्बामा नयाँ महिला उपचारका लागि जाने बित्तिकै पुराना महिलालाई हटाएर उनले धेरै महिलालाई यौनशोषण गर्दै आएको जनाइएको छ ।












