७ मंसिर, डडेलधुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवामाथि गम्भीर आरोप लगाएका छन् । चार पटकसम्म प्रधामन्त्री बनेका देउवाले देश र जनताका लागि सिन्को नभाँचेको र बरु देश बेच्ने काम गरेको आरोप लगाएका हुन् ।
डडेल्धुरा सदरमुकाममा विहीबार आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवाको आलोचना गरेका हुन् । सभामा ओलीले देउवालाई लक्षित गर्दै भने ‘कोही कोही मान्छे सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन्, त्यो पनि ज्योतिषीको भरमा परेर चारपल्ट प्रधानमन्त्री भएकाले के गरेर देखाए ? एकपल्ट प्रधानमन्त्री हुने हामीले जनताको मनमा छाप छाड्ने गरी काम गरेका छौँ ।’
ज्योतिषीको भर गर्नेहरुलाई जनता नै नचाहिने बताउँदै ओली आफ्ना उम्मेदवारलाई भने जनताकै भोट चाहिएको जिकिर गरे । ‘कसै कसैलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बनाइसके । उनलाई जनताको आवश्यकता परेन, ज्योतिषीले भनिदिए पुग्छ’, ओलीले भने, ‘तर, हाम्रा उम्मेदवार खगराज भट्टलाई जनताले जिताउँछन् । ज्योतिषीलाई दिने पैसा खगराजले यहाँको विकासका लागि लिएर आउनुहुन्छ ।’
देउवाले देश नै बेच्न खोजेको आरोप लगाउँदै ओलीले उनलाई भोट नहाल्न डडेलधुरासीसँग अपिल गरे । ‘देश बेच्नेहरुलाई भोट नहाल्नुस्, तराई पहाड बेच्न खोज्नेहरु फेरि यहाँ आएका छन्’, उनले भने, ‘खगराजजीले यहाँको विकासका लागि पसिना बगाउनुहुन्छन्, यो पटक जिताएर पठाउनुस् ।’
उनले प्रहरी प्रशासन र सुरक्षानिकायलाई पनि कडा चेतावनी दिए । भने, ‘प्रहरी प्रशासनलले कानुनको मर्यादा ख्याल गर्नुस्, मंसिर १० र २१ गतेको चुनावपछि एमाले माओवादी गठबन्धनको सरकार बन्दैछ । यसलाई कसले रोक्न सक्नेवाला छैन ।’












