७ मंसिर, कपिलवस्तु । एमाले अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धन देशको समृद्धि र विकासको लागि गरिएको बताएका छन् । गठबन्धनले पार्टीको मूर्त रुप लिइसकेको बताउँदै उनले अबका १० वर्ष देशको निर्माणका लागि खर्चिने उनले बताएका छन् ।
वामगठबन्धनद्वारा कपिलवस्तुको बाणगंगा तथा इमिलियामा आयोजित दुई चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले अब दुई पार्टी एक भइसकेको भन्दै ढुक्क साथ बाम गठबन्धनलाई विजय गराउन आग्रह गरे । अल्पमतको सरकार चलाउँदा पनि आफूहरुले देश र जनताको हितमा काम गरेकै कारण यस पटक बाम गठबन्धनले ५ वर्षसम्म ढुक्क भएर सरकार चलाउने दाबी गरे ।
जिल्लाको चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख वक्ता ओलीले कपिलवस्तु क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका कांग्रेस उम्मेद्वार दीपकुमार उपाध्यायप्रति कटाक्ष गर्दै राजनीति छाडेर जागिर खान भारत पसेकाहरु फेरि विकासको नाममा जनता ठग्न आएको बताए । वामगठबन्धनको सरकार निश्चित रुपमा बन्ने र त्यसपछि आफ्नो जागिर धरापमा पर्ने देखेपछि दीपकुमार पुनः राजनीतिमा छिर्न खोजेको ओलीको भनाइ थियो ।
कार्यक्रमका विशिष्ठ अतिथी माओवादी नेता रामबहादुर थापा बादलले देशमा पुँजीपतीहरुलाई मात्र गणतन्त्र आएको बताए । देशको अग्रगामी परिवर्तन र विकासका लागि बाम गठबन्धन एक मात्र विकल्प भएको बताउदै थापाले जनताको सच्चा गणतन्त्र बामगठबन्धनको जितसँगै आउने दावी गरे ।












