७ मंसिर, काठमाडौं । देशका ३१ जिल्लामा आज रातिदेखि चुनाव प्रचारप्रसार गर्न नपाइने भएको छ । मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मतदान हुने जिल्लामा विहीबार राति १२ बजेदेखि मौन अवधि लागू हुने छ । मंसिर २१ गते निर्वाचन हुने जिल्ला तथा क्षेत्रमा भने चुनाव प्रचारप्रसार गर्न रोकिने छैन ।
मौन अवधि लागू हुने जिल्ला तथा क्षेत्रमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने जानकारी निर्वाचन आयोगले दिएको छ ।
मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइबरलगायतका सामाजिक सञ्जालमार्फत् समेत मत माग्न पाइने छैन । त्यस्तै राष्ट्रिय संचारमाध्यमले भने देशैभर आचारसंहिता लाग्ने जनाइएको छ । अर्थात् पहिलो चरणको चुनावको मौन अवधिमा राष्ट्रिय संचारमाध्यममार्फत दोस्रो चरणको चुनावलाई लक्षित गरी प्रचारप्रसार गर्न पाइने छैन ।
‘मौनअवधिको पालना नगर्नेमाथि एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द गर्नेलगायतका अन्य किसिमका सजायँ हुने व्यवस्था गरिएको छ ।












