६ मंसिर, काठमाडौं । मंगलबार चितवनमा वामगठबन्धनको संयुक्त सभाले झनै कारुणिक अवस्था सिर्जना गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता र बुहारी विना मंचमै रुँदा सभाको वातावारण नै शोकाकुल बन्यो । त्यसमाथि जनगायत खुशीराम पाख्रिन मंचमै ढल्दा सभा झनै शोकाकुल बन्यो ।
आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिएका थिए । तर, परिवार शोकमै थियो । वाम गठबन्धनको पूर्वनिर्धारित कार्यक्रम भएकोले पत्नी सीतालगायत छोरी बुहारीसहित प्रचण्ड चितवनको सभामा सहभागी भएका थिए ।
११ बजे सुरु हुने भनिएको सभा तीन घन्टा अबेर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए । उपस्थित समर्थकलाई अभिवादन गर्दै ओली र प्रचण्ड सभामा प्रवेश गरेको ५ मिनेटपछि प्रचण्डपत्नी तथा प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन् ।
प्रचण्डसँगै बसेकी सीता भावुक थिइन् । उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए । प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाँको छोडेर रोइन् ।
प्रचण्डसँगै बसेकी सीता भावुक थिइन् । उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए । प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाँको छोडेर रोइन् ।
प्रचण्डले सीतालाई सम्हाल्न निकै प्रयत्न गरे, तर उनी आफै पनि असहाय देखिन्थे । प्रचण्डको जोड नलागेपछि सीताको अर्कोतर्फ बसेका एमाले नेता माधव नेपाल समेत सम्झाउने निकै कोसिस गरे । पछिल्लो लाइनमा बसेकी छोरी रेणुलगायत अन्य महिलाले सम्झाउँदा समेत सीताको डाँको रोकिएन, आँसु झारिरहिन् । केहीबेरपछि उनी सभाबाटै हिँडिन् । पतिवियोगमा परेकी विना पनि बाहिरिइन् । पीडामा परेका प्रचण्डले पनि कार्यक्रमलाई सम्बोधन गर्न सकेनन् र गरेनन् । सहभागी अन्य नेताहरुले मात्रै सभालाई सम्बोधन गरेका थिए ।













