५, मंसिर, काठमाडौं । जिल्लामा शात्ति सुरक्षामा असफल देखिएको भन्दै सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मंसिर १० गते पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। गृह स्रोतका अनुसार चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै उनीहरूको सरुवा गरिएको हो । गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका प्रजिअको परिवर्तन गरेको हो । गृह प्रवक्ता नारायण शर्माले निर्वाचन सुरक्षा व्यवस्था र अन्य व्यवस्थापकीय कारणले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको परिवर्तन गर्नुपरेको जानकारी दएका छन् ।निर्वाचन सुरक्षाको कारण देखाएर सरुवा गरिएका कतिपय सीडीओ चार महिना पनि नहुँदै परिवर्तन भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा निर्वाचनको निकट आएर गरिनु रहस्यमय बनेको छ ।
भदौ १४ गते भोजपुरको प्रजिअ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवा भएका छन् । त्यस्तै गत साउन ३२ गते रसुवाको प्रजिअ भएर गएकी हीरादेवी पौडेलको पनि सरुवा भएकी छिन् । सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउँमा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ ।
गृहप्रशासनले प्रजिअको सरुवा सामान्य प्रक्रिया भएको बताएको छ ।












