५ मंसिर, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल र राष्ट्रिय जनता पार्टीबीच चुनावपछि एकता हुने घोषणा गरेका छन् । चुनाव प्रचारका क्रममा सप्तरीको राजविराजमा पुगेका अध्यक्ष यादवले राजपा नेपालसँगको आफ्नो चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको बताए ।
राजविराजमा मंगलबार रासससँग कुराकानी गर्दै यादवले भने – “ यसको सफलतापछि पार्टी एकताको प्रक्रियालाई पनि अगाडि बढाइने छ ।”
अध्यक्ष यादवले संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेशीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दावी पनि गरे ।
मधेसको अधिकार प्राप्त नभएसम्म मधेसीको लडाइँ समाप्त नहुने उल्लेख गर्दै उनले मधेसी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेसीको अधिकार सुनिश्चित हुने उनको धारणा थियो ।
अध्यक्ष यादवले काँग्रेस, एमाले र माओवादी केन्द्रले जति मीठो भाषण र आश्वासन दिए पनि मधेशी हितमा नभएको आरोप लगाउँदै राज्यमा सबैभन्दा बढी कर तिर्ने मधेसमा सरकारी लगानी अत्यन्त कम भएको उल्लेख गरे ।
निर्वाचनमा आफ्नो पार्टीको बहुमत आएमा सबै खालका विभेद अन्त्य गर्ने बताउँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउनका लागि राज्यको लगानी बढाउनेमा जोड दिइने छ भने ।












