राजाका छोराको नाम लेखिएको स्थानमा गणतन्त्रका नायकका छोराको श्रद्धाञ्जलि सभा
५ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्रका नेतृत्वकर्ता हुन् भने पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन् । २०६२६३ को आन्दोलनपछि माओवादीका कार्यकर्ताले पूर्वराजाका शालिक भत्काए भने तत्कालीन सरकारले पूर्वराजपरिवारका सदस्यसँग नाम जोडिएका निकाय र संस्थाको नाम नै परिवर्तन गर्यो । तर चितवनमा एउटा त्यस्तो सार्वजनिक स्थल छ जसको नाम पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारसको नाम जोडिएको छ । स्थानको नाम हो पारस वसपार्क । यो बसपार्कमा आज एउटा गजबको संयोग परेको छ । राजतन्त्रका अन्तिम राजाका छोराको नामबाट नामाङ्कित पारस बसपार्कमा गणतन्त्रका नायक प्रचण्डका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलि सभाको आयोजना गरिँदै छ ।
नेकपा एमाले र माओवादी केन्द्रको पूर्वघोषित चुनावी सभालाई प्रकाशको सम्मानस्वरुप श्रद्धाञ्जलि सभाको रुप दिन लागिएको हो । श्रद्धाञ्जलि सभालाई एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डलगायत अन्य केन्द्रीय नेताहरुले सम्बोधन गर्दैछन् । पुत्रवियोगपछिको पहिलो सार्वजनिक सम्बोधन गर्न लागेका प्रचण्डले आजको सभामा के भन्लान् भन्ने कौतुहलता जनमानसमा देखिएको छ ।
दाहालको गृहजिल्ला चितवनमा एमाले–माओवादी केन्द्रले मंगलबार श्रद्धाञ्जलि सभाको आयोजना गर्ने भएका छन् । भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले मंगलबारका चुनावी सभा गर्ने तय गरेका थिए । पूर्वनिर्धारित चुनावी सभालाई श्रद्धाञ्जलि सभामा परिणत गर्ने ती दलहरुले जनाएका छन् । श्रद्धाञ्जलि सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।












