समाचार टिप्पणी
नेपाल देशमा धेरै राजनेता छन् तर पुष्पकमल दाहाल प्रचण्ढ नै वर्तमान राजनीतिको सबैभन्दा केन्द्रमा रहेका र शक्तिशाली राजनेताका रुपमा स्थापित छन् । कतिपय राजनेता पार्टी परम्पराका कारण अध्यक्ष भएर उच्चस्थानमा छन् तर प्रचण्ड भने आफ्नै बलबुता र विचारले निर्माण गरेको पार्टीको अध्यक्षकै रुपमा रहनुले पनि उनको छवि उच्च छ । चुनावी राजनीतिले पार्टी तेस्रो स्थानमा रहे पनि नेपाली जनमानसको सबैभन्दा बढी आशा, भरोसा र डर प्रचण्डप्रति नै छ । त्यसैले पनि उनी नेपाली राजनीतिको मियोका रुपमा रहेका छन् । त्यही कुरा अभिव्यक्त भयो आइतबार उनीमाथि परेको वज्रपातप्रति ।
आइतबार दिनभरि सारा नेपालीको ध्यान प्रचण्डको दुःख र पीडाप्रति नै केन्द्रित रह्यो । प्रचण्डका कट्टर आलोचकहरु पनि उनको पीडाप्रति द्रविभूत भए । जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डको मन भावुक पनि छ भन्ने कुरा त नेपालीले पहिले नै बुझेका हुन् तर यसपल्ट प्रचण्डको पीडाप्रति सबै नेपालीले समवेदना प्रकट गरे । चुनावी अभियानका क्रममा प्रचण्डको तीव्र आलोचना गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डपुत्रको निधनले मर्माहत भएको कुरा फेसबुकमार्फत सार्वजनिक गरे । जनयुद्धका सहयात्री भएर अहिले प्रचण्डसँग निकै दूरि बढेका बाबुराम भट्टराई पेरिडाँडा पुगेर उनीसँग अँगालो हालेर रोए । एमालेले त प्रकाश दाहालप्रति सम्मान प्रकट गर्दै एक घण्टाका लागि देशैभरका चुनावी कार्यक्रम स्थगित गर्यो । नेपाली राजनीतिका यी सबै घटनाक्रम माओवादी केन्दका एक जना पोलिट्व्युरो सदस्यको निधनले नभएर सो दलका अध्यक्ष प्रचण्डप्रतिको पीडामाथिको समवेदनाका कारण भएका हुन् भन्ने कुरा स्पष्ट नै छ । त्यसो त जनयुद्धका क्रममा ‘आतंककारीको नाइके प्रचण्ड र उसको छोरा प्रकाश’ लाई देखेभेटे खबर गर्न भनी दुई बाबुछोराको तस्वीरसहितको पोस्टर तत्कालीन शाही नेपाली सेनाले यत्रतत्र टाँसेको कुरा नेपालीले विर्सिसकेका छैनन् । त्यसकारण जनयुद्धका वेला प्रचण्ड तत्कालीन सत्ताको जति टार्गेटेड थिए त्यति नै टार्गेटेड थिए उनका छोरा प्रकाश दाहाल पनि ।
शान्ति प्रक्रियामा आएपछि प्रचण्डको क्रेज जति कम भयो त्यसको तुलनामा पुत्र प्रकाशको छवि झनै कमजोर बन्यो । यसको कारक थियो सर्वाधिक शक्तिशाली मानिएका प्रचण्डको पारिवारिक निगरानी गर्ने र त्यसभित्रका सानातिना कमजोरी खोजेर तिललाई पहाड बनाउने षडयन्त्रको सिद्धान्त अर्थात् कन्पिरेसी थ्यौरी । शक्ति आर्जन गर्ने राजनीतिमा यो अभ्यास संसारमा चलिरहन्छ र नेपालमा पनि चल्यो, जुन स्वभाविक थियो ।
तर आज प्रकाश दाहालको निधनप्रति चिन्ता नगर्ने नेपाली सायदै रहे होला । प्रकाशको निधनप्रति त्यति धेरै चिन्ता व्यक्त भयो जसको एक दशांश पनि चिन्ता देखिएन केही दिनअघि मात्रै दिवंगत भएका पूर्वप्रधानमन्त्री कीर्तिनीति विष्टप्रति । प्रकाश दाहालको निधनप्रति यति चासो राख्ने नेपाली समाज देशकै प्रधानमन्त्री भैसकेको व्यक्तिप्रति खासै चिन्तित देखिएन । यसमा दुई कारण मुख्य छन् : विष्ट राजनीतिक शक्तिमा नहुनु र उनको वृद्धअवस्थामा निधन हुनुका कारण उनको निधनप्रति त्यति वास्ता भएन । न त जनताले गर न त सरकारले नै कुनै स्थान दियो । तर नेपाली राजीतिका शक्तिशाली व्यक्ति प्रचण्डको पीडाप्रति सबैको सहानुभूति देखियो युवाअवस्थाको पुत्र गुमाएर बाबुले दागबत्ती दिनुपर्ने अवस्था स्वभाविक क्रम पनि होइन।
हो, मुख्य कुरा यही हो कि प्रचण्ड राजनेता हुन् र उनका हरेक क्रियाकलाप, परिवारका सदस्यका क्रियाकलाप र सुखदुःख हरेक नेपालीका प्रमुख चासोका विषय छन् यतिवेला । शान्तिप्रक्रियामा आउँदाताकाका प्रचण्डको क्रेज अब बाँकी नभएकोजस्तो ठानिन्छ तर त्यो छ भन्ने कुरा पछिल्लो घटनाले पुष्टि गरेको छ ।
छोरी गुमाएको ३ वर्ष पुग्दानपुग्दै आफ्नो एक मात्र छोरा गुमाउँदा प्रचण्डले भोग्नुपरेको पीडाप्रति आज उनका समर्थक र विरोधी सबै द्रविभूत भए । सार्वजनिक जीवनका कारण प्रचण्ड मन लाग्ने गरी रुन नपाएको समेत सबैले बुझे र देखे । कम्युनिस्ट जीवनशैली अपनाइरहेका प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा छोरा प्रकाशलाई श्रद्धाञ्जलि दिन उनले बलियो गरी हात मुठ्ठी पारेर श्रद्धाञ्जलि दिन त खोजे तर उनको मन भने बलियो बन्न सकेन । मुठ्ठी उठाए पनि उनका ओठ काँपिरहे र आँखाबाट आँसु झरिरह्यो । यस्तो अवस्थामा पनि प्रचण्डले आफूलाई सम्हालिरहे र देशभरबाट उनको क्रियाकलाप नियालिरहेका मानिसप्रति आफ्नो आत्मबल देखाइरहे । प्रचण्ड कमजोर बनिरहेका थिए तर पनि उनी आफूलाई बलियो बनाइरहेका थिए । कम्युनिस्टहरु कठोर हुँदैनन् तर बलियो आत्मबलका हुन्छन् भन्ने उनले देखाए ।
पुत्रवियोगका कारण गम्भीर बनेकी पत्नी सीतादेखि दुइटी बुहारीको जीवनलाई आत्मबल दिने जिम्मेवारी प्रचण्डसँगै छ । त्यो भन्दा पनि ठूलो जिम्मेवारी उनै प्रचण्डसँग छ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गरेर परिवर्तनलाई आकार दिने । त्यसैले त पीडाकै बीचमा पनि उनले पार्टीलाई निर्देशन दिए निर्वाचनका कार्यक्रम नरोकी यथावत संचालन गर्नू भनेर ।
के यति आत्मबल भएको र पीडाभित्र पनि पार्टी, देश र राजनीतिप्रति चिन्तित अरु नेता कोही छ देशमा । यसकारण प्रचण्डप्रति सबै नागरिकको चासो तीव्र छ । यस्ता नेता प्रचण्डको आत्मबलप्रति सम्मान र उनीप्रतिको वज्रपातप्रति सबैको समवेदना छ । शोकलाई शक्तिमा बदलौं भन्ने सामान्य सिद्धान्तकै बाटोमा प्रचण्डका पाइला अगाडि बढून् भन्ने शुभेच्छा उनलाई ।














