३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना छोरा प्रकाशको हत्या भएको आशंका गरेका छन् । झापाबाट राजधानी फर्कनेवित्तिकै उनी अस्पताल नपुगी लाजिम्पाटस्थित निवास पुगेर यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागका प्रमुखलाई आग्रह गरेका थिए ।
प्रचण्डको आग्रहमा नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्रका सिंहबहादुर श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी लाजिम्पाट पुगेका थिए । प्रचण्डले उनीहरुसँग छोरा प्रकाशको मृत्यु नभई हत्या हुन सक्ने आशंका व्यक्त गर्दै गम्भीर छानविनका लागि आग्रह गरेको प्रहरी उच्चस्रोतले जानकारी दियो । ।
छोरा प्रकाशले शनिबार साँझ आफूलाई टेलिफोन गरेको र आइतबार चितवन जाने बताएको उल्लेख गर्दै उसको अवस्था ठिक रहेको प्रहरी प्रमुखसँग बताएका थिए ।
नर्भिक अस्पतालका चिकित्सकहरुले पनि आकस्मिक हृदयघात हुने सम्भावना रहेका दुई पक्ष उच्चरक्तचाप र मधुमेह दुवैबाट मुक्त प्रकाशको आकस्मिक हृदयघात अनौठो भएको जनाएका छन् । तर उनीहरुले प्रकाशको निधन वंशाणुगत प्रभावका कारण भएको हृदयघातबाट नै भएको हुनसक्ने कुरा पत्रकारहरुलाई जानकारी गराएका थिए ।












