३ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रकाश दाहाललाई बँचाउन आफूहरुले केही गर्न सक्ने अवस्था नरहेको चिकित्सकहरुले बताएका छन् । नर्भिक अस्पतालका विशेषज्ञहरु डा जेपी जयसवाल र डा यादव भट्टले पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् । अस्पताल ल्याउँदा दाहालको निधन भइसकेकोले उनलाई बचाउँनका लागि कुनै प्रयास गर्न नसकिएको उनीहरुले जानकारी दिए ।
विहान ५ बजेर ५० मिनेटमा प्रकाशलाई उनका दुई सहयोगीले अस्पताल ल्याएको तर अस्पताल ल्याउनुभन्दा ३ घण्टा अगाडि नै उनको निधन भइसकेको डा जयसवालले जानकारी दिए। उनले भने- ‘अस्पताल ल्याउनुभन्दा ३ घण्टाअघि नै उहाँको निधन भइसकेको थियो । आँखा सुन्निएको थियो। हातहरु चिसो भइसकेको थियो।’ अस्पताल ल्याएको १० मिनेटपछि आफूहरुले मृत घोषणा गरेको जयसवालले जानकारी दिए। प्रकाशमा उच्च रक्तचाप र मधुमेहको समस्या नहुँदा पनि आकस्मिक हृदयघात भएको परीक्षणबाट थाहा भएको जयसवालले बताए। दाहालमा वंशाणुगत कारणले आकस्मिक हृदयघात भएको हुनसक्ने डा जयसवालले बताए । सामान्यतया उच्च रक्तचाप र मधुमेहको समस्या भएका व्यक्तिलाई हृदयघाटको जोखिम बढी हुने समेत चिकित्सकहरुले उल्लेख गरेका छन् ।
यो पनि पढ्नृहोस् :
प्रकाशको निधनले एमाले स्तब्ध, देशैभरका चुनावी कार्यक्रम स्थगित












