२ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनका उम्मेदवारलाई लक्षित गरी देशभर बम आक्रमण गरेपछि प्रहरी आक्रामक बनेको छ । प्रहरीले विप्लवका करिब २ सय नेता कार्यकर्ता देशभरबाट पक्राउ गरेको छ ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा खलल पुर्याउने नेकपाका कार्यकर्तालाई पक्राउ गरी अधिकांशलाई मुद्धा चलाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार कार्तिक ९ गतेयता दाङबाट २०, कास्कीबाट १८, रुकुमबाट १७, बर्दियाबाट नौ, गोरखा, पाँचथर, ताप्लेजुङबाट आठ/आठ र बैतडीबाट पाँच जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
काठमाडौं नजिकैको छिमेकी जिल्ला नुवाकोटमा उम्मेदवारमाथि शक्तिशाली एम्बुस आक्रमण भए पछि प्रहरीले राजधानी काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । यसै क्रममा शुक्रबार पनि विभिन्न स्थानबाट नेता कार्यकर्ता पक्राउ गरिएको छ । त्यसै क्रममा विप्लव समूहसँग निकट रहेको भन्दै प्रहरीले ३ जना साहित्यकारलाई प्रगतिशिल लेखक संघको कार्यालयबाटै पक्राउ गरेको थियो ।













