१ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका एनालग प्रविधिबाट प्रसारण भइरहेका टेलिभिजन बन्द गराउने निर्णय सरकारले तत्कालका लागि स्थगित गरेको छ । एनालग टेलिभिजन प्रसारणमा रोक लगाउने गरी सरकारले केबल टेलिभिजनको एनालग प्रसारण बन्द गरेको एक दिनपछि नै सो निर्णय स्थगित गरेको छ । सरकारले कात्तिक २९ गते केही एनालग केबल टिभीको प्रसारण बन्द गराएको थियो ।
सरकारले हालका लागि ३५ एनालग कम्पनीहरुको प्रसारणलाई बन्द नगरी नियमित गर्ने निर्णय गरेको छ। आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावका कारण प्रसारण नियमित गर्ने निर्णय भएको सूचना तथा संचार मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ। राजनीतिक दलहरु चुनाव प्रचारमा रहेको र दलहरुका चुनावी प्रचारका समाचारहरु नै मतदातामा नपुग्ने समस्या भएपछि सरकारले तत्कालका लागि नियम नपुर्याएका टिभी पनि सुचारु गराउने निर्णय गरेको हो ।
आगामी सात दिनभित्र एनालगलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने कार्यतालिका पेस गर्न एनालग कम्पनीहरुलाई निर्देशन दिइएको छ। संचार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आगामी मंसिर मसान्तसम्मका लागि स्थानीय तहमा उपलव्ध नेपाली प्रशारण संस्थाका प्रसारण च्यानललाई अनिवार्य रुपमा प्रशारण गर्नेगरी निर्णय गरियो।’
नेपालमा डिजिटलाइज्ड टेलिभिजन सेवा लागू गर्न केही समय थप गर्नेबारे नेपाल केबल टिभी व्यवसायी महासंघका पदाधिकारीसँग मन्त्रालयले आजै छलफल गरेको थियो।
यसअघि बुधबार र बिहीबार मन्त्रालयले एनालग प्रविधिमा प्रशारण भइरहेका केबल कम्पनीहरुको अनुगमन गरी प्रसारण बन्द गराएको थियो। ११ कम्पनीको अनुगमन गरी रोकिँदा दुई महानगरमा २० लाख टेलिभिजनको सेट प्रभावित भएको अनुमान छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन ‘आइटियु’ले यसै अंग्रेजी वर्षको डिसेम्बरसम्ममा एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिएको थियो। सोअनुसार नेपाल सदस्य राष्ट्र भएकाले निर्णय कार्यान्वयन गराउनै पर्ने बाध्यता छ।













