१ मंसिर, काठमाडौं । सरकारले नै आचारसंहिता उल्लंघन गरेको आरोप नेकपा एमालेले लगाएको छ । एक रङमा मात्र निर्वाचन घोषणापत्र जारी गर्नुपर्नेमा नेपाली काँग्रेसले बहुरङमा घोषणापत्र प्रकाशन गर्नेदेखि प्रहरीको सरुवा गर्ने काम गरेर गम्भीर आचारसंहिता उल्लंघन गरेको एमालेले जनाएको छ ।
एमाले केन्द्रीय कार्यालय, धुमबाराहीमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा एमालेले सरकारलाई आचारसंहिता उल्लंघनको आरोप लगाएको हो । एमाले वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप । नेता खनालले विभिन्न स्थानमा उम्मेदवारमाथि हमला गर्नेलाई कारवाही नभएको, एक रङमा मात्र निर्वाचन घोषणापत्र जारी गर्नुपर्नेमा नेपाली काँग्रेसले बहुरङमा घोषणापत्र प्रकाशन गरेको र सरकारले चार÷पाँच सय प्रहरी अधिकृतको सरुवा गरेर आचारसंहिताको गम्भीर उल्लंघन गरेको दावी गरे ।
पूर्वप्रधानमन्त्री खनालले भने “सरकारबाटै निर्वाचन प्रभावित पार्ने काम भइरहेको छ, यसको परिणाम नराम्रो हुन सक्नेछ । निर्वाचन आयोगले यस्ता काम तत्काल रोक्ने काम गरोस् ।”
उनले वाम गठबन्धनले जितेमा मुलुकमा तानाशाही आउँछ भनिनु गलत भएको धारणा व्यक्त गरे । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ नै सुरुमा काँग्रेसमा आबद्ध भए पनि त्यो पार्टीमा अलोकतान्त्रिक व्यवहार देखेर उनले कम्युनिस्ट पार्टी खोलेको स्मरण गराए ।
आफूहरु पूँजीवादी लोकतन्त्र नभई समाजवादी लोकतन्त्रका पक्षमा रहेको जनाउँदै नेता खनालले कम्युनिस्ट अधिनायकवादी हुन्छन् भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे । “वास्तवमा काँग्रेसले बहुमत ल्याएमा मुलुकमा तानाशाह आउँछ, वाम गठबन्धनले जितेमा मुलुकको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा तीव्रता आउनेछ” उनले भने ।
उनले एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनपछि पार्टी एकता हुनेमा कुनै प्रश्न नरहेको बताउँदै अहिले नै एकै निर्वाचन चिह्न हुन सकेको भएमा राम्रो हुन्थ्यो भन्ने आवाज जनस्तरबाट आएको उल्लेख गरे।
पत्रकार भेटघाट कार्यक्रमको आयोजना प्रेस चौतारी नेपालले गरेको थियो ।













